आलेख – उपल्लो डोल्पाको सुत्केरी सेवा आम्चीका भरमा

– हेमन्त केसी
जाजरकोट, (रासस) डोल्पाको डोल्पो बुद्ध गाउँपालिका–१ की २६ वर्षीया छिरिङ बुढालाई सुत्केरी व्यथाले च्यापेपछि स्वास्थ्य संस्था लान सकिएन र आम्चीलाई घरमै बोलाएर सुत्केरी गराइयो ।

उहाँले अहिलेसम्म आम्चीकै सहयोगको भरमा तीन बच्चा जन्माउनुभयो । उहाँलाई स्वास्थ्य संस्था लगिएन । उहाँको घरबाट कस्सिएर हिँड्दा ६ घण्टामा पुगिने ठाउँ ताक्सी गाउँमा प्रसूति कक्ष (वर्थिङ सेन्टर )त छ तर नाम मात्रको । त्यहाँ न स्वास्थ्यकर्मी हुन्छन् र न त औषधि नै उपलब्ध छ । यसकारण यहाँका अधिकांश महिला सुत्केरी हुँदा आम्चीलाई बोलाउने गर्छन् ।

सोही गाविसकी नामग्याल लामा (आम्ची) गाउँमा सुत्केरी गराउने काम पर्दा तत्कालै जानुहुन्छ । स्थानीय जडीबुटीबाट निर्माण गरिएको औषधि लिएर पुग्ने उहाँले यो सेवा दिँदै आउनुभएको छ । स्वास्थ्यकर्मीभन्दा लामा (आम्ची) लाई गाउँमा बोलाउन सजिलो र उहाँको पहुँच राम्रो रहेको स्थानीयवासी बताउँछन् । तर यहाँका महिलालाई सरकारी स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउनु भनेको फलामका चिउरा चपाएसरह हुने गरेको उनीहरुको अनुभव छ ।

यस गाविसको वडा नं ३ का प्रेमा लामा, वडा नं ४ का गोम्वो छेप्तेन गुरुङ, वडा नं ५ का कार्मा छोइवेल गुरुङ र वडा नं ६ का छोइटुप गुरुङले आम्चीको काम गर्दै आउनुभएको छ । उहाँहरुले गाउँमा स्थानीयवासी बिरामी तथा महिला सुत्केरी हुँदा स्वास्थ्य सेवा दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत ओखराम ताराम मगरले जानकारी दिनुभयो ।

यस गाविसका वडा नं ४, ५ र ६ का लागि राखिएको धोस्थित स्वास्थ्य संस्था स्थानीयवासीको पहुँचमा छैन । त्यसैले पनि यहाँका महिला आम्चीको भरमा स्वास्थ्य सेवा लिँदै आएका छन् । गाउँपालिकाले समेत आम्चीलाई औषधिलगायतका अन्य साधन किन्न आर्थिक सहयोग गरेको छ । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने अवस्था र गर्भको जाँचसमेत गर्ने सुविधा नरहेपछि असुरक्षित रुपमा सुत्केरी हुन यहाँका महिला बाध्य हुने गरेका छन् । गाउँपालिकामा अहिलेसम्म कतिजनाले सुरक्षित सुत्केरी सेवा लिए भन्ने यकिन तथ्याङ्कसमेत पाउन गाह्रो छ ।

आम्चीलाई बौद्ध धर्मसँग सम्बन्धित र चीनबाट आयातित उपचार विधिका रुपमा लिइन्छ । नेपालको उच्च हिमाली क्षेत्र अर्थात् चीनको सिमानासँग जोडिएको ठाउँमा रहेका जनजाति समुदायमा यो उपचार विधि लोकप्रिय छ । उपल्लो डोल्पामा मानवबस्ती बसेसँगै यो उपचार विधि पनि प्रचलनमा आएको बताइन्छ । पहिले स्वास्थ्य संस्था नभएको समयदेखि अहिलेसम्म पनि यही विधिबाट यहाँका सर्वसाधारणको उपचार हुँदै आएको छ ।

हिमाली क्षेत्रमा पाइने जडीबुटीमार्फत आयुर्वेदिक उपचार यस विधिबाट गर्ने गरिन्छ । आम्चीहरु गुम्बामा पूजाआजा गर्ने तथा कतिपयले विशेष मन्त्रद्वारा त धेरैले पछिल्लो समयमा आएर जडीबुटीको प्रयोगबाट उपचार गर्छन् । डोल्पा हुँदै उच्च हिमाली जिल्ला ताप्लेजुङसम्म नै यो उपचार विधि प्रचलनमा छ । यो विधिको अभ्यास गर्ने व्यक्तिलाई पनि आम्ची भन्ने चलन छ ।

समुद्री सतहबाट दुई हजार ८०० मिटरदेखि चार हजार ८७५ मिटरसम्मको उचाइमा यहाँका गाउँ अवस्थित छन् । भारी हिमपात हुने यो गाउँपालिकामा लगभग बाह्रै महिना स्वास्थ्यकर्मी बस्नसक्ने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष तेम्वा गुरुङले बताउनुभयो । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको सो गाउँपालिका सधैँजसो हिउँले ढाकेको हुन्छ ।

त्यस्तै शेफोक्सुण्डो गाउँपालिकामा तीन वटा प्रसूति कक्ष (बर्थिङ सेन्टर) रहेका छन् । यहाँ दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाह गर्न मुस्किल हुँदै आएको छ । जम्मा ८७० घरधुरी रहेको गाउँपालिकामा सबै महिला सुत्केरी सेवा लिन नआएको सालताङ स्वास्थ्य चौकीका प्रमुख निमा धार्के गुरुङले जानकारी दिनुभयो । वर्षमा २०० जति महिलाले आफ्नै घरमा असुरक्षित रुपमा बच्चा जन्माउने गरेको उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष यहाँ दुईजना महिला मात्र स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी भएका थिए । स्थानीय भाषा स्वास्थ्यकर्मीले नबुझ्ने भएकाले पनि यहाँ स्वास्थ्य सेवा दिन गाह्रो हुँदै आएको स्वास्थ्यकर्मीले बताएका छन् ।

गाउँमा गएर स्वास्थ्यकर्मीले गर्भवती महिलालाई नियमित गर्भजाँच गर्न र सुत्केरी हुने समयमा स्वास्थ्य संस्थामा पुग्न आग्रह गरे पनि स्वास्थ्य संस्था पहुँचमा नहुँदा समस्या हुँदै आएको छ । दुर्गम भन्दै स्वास्थ्यकर्मीहरु नियमित स्वास्थ्य संस्थामा नबस्दासमेत उपचारमा समस्य हुँदै आएको छ ।

यस गाउँपालिकाका वडा नं १, २, ३ र ४ को स्वास्थ्य चौकी सालदाङमा रहेको छ । वडा नं १ को मुसीगाउँबाट सालदाङ स्वास्थ्य चौकीमा आउन दुई दिन लाग्ने गर्छ । पायक पर्ने ठाउँमा स्वास्थ्य चौकी नहुँदा बिरामी भए पनि उपचार गर्न धेरै दिन लाग्ने भएकाले उपचारै नपाएर अधिकांश सर्वसाधारण अकालमै ज्यान जाने गरेको स्थानीयवासी कसी गुरुङले जानकारी दिनुभयो । वडा नं १ कै डोल्मा गुरुङ पनि तिलिङगाउँबाट सालदाङस्थित स्वास्थ्य संस्थामा पुग्न टाढा भएकाले घरैमा बच्चा जन्माउनुभएको थियो । उहाँका अनुसार सबै गाउँका महिला यसरी नै असुरक्षित रुपमा घरमै बच्चा जन्माउने गरेका छन् ।

गाउँमै कतिबेला औषधि पुग्छ भन्ने पनि यहाँका सर्वसाधारणलाई थाहा हुँदैन । औषधि खच्चडमा लिएर जाने गरिएको छ तर औषधि पूर्ण कहिल्यै पाइँदैन । अहिले सबै गाउँमा ज्वरो र रुघाखोकीका बिरामी देखा परेका छन् तर औषधि लिएर जान पनि टाढा भएकाले समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

गाउँपालिकाका स्वास्थ्य संयोजक गाउँपालिकामा नबस्दा समस्या हुँदै आएको छ । स्वास्थ्य सेवा कार्यालयबाट कुनै पनि औषधि गाउँपालिकामा नपठाएको स्रोतले बताएको छ । गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङलगायतका जनप्रतिनिधि हाल काठमाडौँमा रहेको बुझिएको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल १२३.७ वर्ग किमी छ । यहाँका ९ वडामध्ये वडा नं १,२, ३ र ४ को संयुक्त वडा कार्यालय साल्दाङ र वडा नं ५, ६ र ७ को संयुक्त वडा कार्यालय भिजेर र वडा नं ८ र ९ को संयुक्त वडा कार्यालय फोक्सुण्डोमा रहेको छ ।

यस गाउँपालिकाको जम्मा जनसङ्ख्या तीन हजार ०९९ रहेको छ । ऐतिहासिक तथा धार्मिकस्थलमा शे–फोक्सुण्डो ताल, शे–गुम्बा रहेका छन् । समुद्री सतहदेखि करिब दुई हजार ३०० देखि सात हजार ४२५ मिटर उचाइमा गाउँपालिका रहेको छ । शे–फोक्सुण्डो गाउँपालिकाको नामकरण ऐतिहासिक, धार्मिकस्थल शे–गुम्बा र साविक फोक्सुण्डो गाविस रिग्मो गाउँस्थित पर्यटकीयस्थल शे–फोक्सुण्डो तालको नामबाट यस गाउँपालिकाको नामकरण भएको हो ।

त्यस्तै छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङका अनुसार गाउँपालिकामा दुई वटा मात्र स्वास्थ्य चौकी रहेका छन् । अहिले सातजना स्थानीय वैद्य (आम्ची) मार्फत स्वास्थ्य सेवा तथा सुत्केरी सेवा दिने काम भइरहेको छ । असाध्यै चिसोका कारण दैनिक सरकारी सेवा दिनसमेत अप्ठेरो हुँदै आएको छ ।

अहिले गाउँपालिकाको वडा नं २ छार्का गाउँ र वडा नं ४ मा मात्र स्वास्थ्य संस्था रहेका छन् । अन्य वडाहरु स्वास्थ्य संस्थाविहीन अवस्थामा रहेका अध्यक्ष गुरुङले बताउनुभयो । स्थानीय आम्चीलाई औषधिलगायतका अन्य आवश्यक सहयोग गरेर उनीहरुमार्फत सुत्केरीलाई सेवा दिइँदै आइएको छ । सुत्केरी हुँदा निकै समस्या भएमा मात्र आम्चीलाई बोलाएर सुत्केरीलाई घरेलु उपचार गर्ने गरिन्छ भने सामान्य समस्यामा घरमै सुत्केरी हुने गरेको स्थानीयवासीले बताएका छन् । अहिलेसम्म गाउँपालिकाले सुत्केरी भत्तासमेत भुक्तानी गरेको छैन ।

विकट गाउँमा कति महिला असुक्षित सुत्केरी हुन्छन् र सुत्केरी हुन नसकेर कतिको ज्यान जान्छ भन्ने तथ्य सञ्चारको पहुँचभन्दा बाहिरै छ । एक गाउँबाट अर्को गाउँमा जान मात्र दुई दिनसम्म लाग्ने गर्छ । हिमालका बीचमा गाउँहरु रहेकाले हिमालमा हिउँ पर्नेबित्तिकै बाटो अवरुद्ध हुने गर्छ र यसबाट गाउँको सम्पर्कसमेत टुट्न जान्छ ।

ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका र जगदुल्ला गाउँपालिकामा मात्र आंशिक रुपमा महिलाले सुत्केरी सेवा लिने गरेका छन् । एकबाट अर्को वडामा जान दिनभर लाग्ने भएकाले र सडकको पहुँच नभएका कारण यहाँका महिला सुरक्षित सुत्केरी सेवा लिन नपाएका हुन् ।

ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिका सदरमुकाम दुनैसँग जोडिएका छन् । मुड्केचुला जाजरकोटको नलगाड नगरपालिकासँग र जगदुल्ला गाउँपालिका जुम्लासँग जोडिएको छ । उपल्लो डोल्पाभन्दा तल्लो डोल्पामा सुरक्षित सुत्केरी हुने महिलाको सङ्ख्य केही बढी छ ।

आर्थिक वर्ष २०७४/०७५ मा २८५, २०७५/०७६ मा ४०५ र २०७६ साउनदेखि माघसम्म २४४ जना महिलाले मात्र स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी सेवा लिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ । धेरैले स्वास्थ्य सेवा कार्यालय दुनैमा आएर बच्चा जन्माउने गर्छन् । आर्थिक वर्ष २०७४/०७५ मा ७३, २०७५/०७६ को अहिलेसम्म ७१ जनाले स्वास्थ्य सेवा कार्यालय दुनैमा आएर सुरक्षित सुत्केरी सेवा लिएका छन् ।

यसरी प्रसूतिजन्य जटिलताका कारण अप्ठेरोमा परेका महिलामध्ये डोल्पाबाट मात्र सरकारले १४ जना गर्भवतीको हेलिकप्टबाट उद्धार गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । कर्णाली प्रदेशको सबैभन्दा बढी हेलिकप्टरबाट गर्भवतीको उद्धार गरिएकामा डोल्पाका महिला पर्छन् । यहाँका महिलालाई सुरक्षित रुपमा सुत्केरी सेवा प्रदान गर्न प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण गरी जनचेतना फैलाउनु पहिलो प्राथमिकता रहेको स्थानीय सरकारको भनाइ छ ।

कतै यस्तो अवस्था छ भने कतै मानिसहरु आधुनिक स्वास्थ्य उपचारभन्दा बढी देवीदेवताको विश्वासमा पर्ने भएकाले स्वास्थ्य संस्थामा सेवा लिन जानेको सङ्ख्या पनि कम देखिन्छ । सेवा लिन नागरिक आए आफूहरु दक्ष सेवा दिन तयार रहेको सेवा कार्यालयका प्रमुख सिजन रावलले जानकारी दिनुभयो । उहाँका अनुसार धामी, झाँक्रीको विश्वासमा स्वास्थ्य सेवा कार्यालयमा सुत्केरी हुन नै महिला आउँदैनन् । एकातर्फ निकै दुर्गममा रहेका महिला स्वास्थ्य केन्द्रसम्म नै पुग्न सक्दैनन् भने अर्कातर्फ राजनीतिक पहुँचका आधारमा पनि हेलिकप्टरबाट गर्भवतीको उद्धार गरी जिल्ला बाहिर लाने चलन पनि पछिल्लो समयमा बढ्दो छ ।





error: Content is protected !!