बन्दाबन्दीले कम्पनीको खाद्यान्न बिक्री दर बढ्यो

डोल्पा ः डोल्पामा खाद्यान्न बिक्री दर बढेको छ । सरकारले गरेको बन्दाबन्दीको कारण नेपाल सरकारले अनुदानमा दिने खाद्यान्नकोे चामल बिक्री बढेको हो ।
दैनिक ६० क्विन्टल भन्दा धेरै चामल बिक्री हुने गरेको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाले जानकारी दिएको छ । पहिला दैनिक २० क्विन्टल सम्म बिक्रि गर्न धौंधांै परेको बेलामा बन्दाबन्दी पछि ह्वात्तै बढेको कम्पनीका डोल्पाका प्रमुख कमलराज पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेका अनुसार बन्दाबन्दीमा खाद्य कम्पनीले सबै चामलमा दश प्रतिशत मुल्य घटाएपछि पनि जनताले चामल धेरै खरिद गरेको बताए । चामलको मुल्य घट्नु र बन्दाबन्दीले खाद्यान्नमा परेको समस्याले जनताले चामल धेरै किनेको अनुमान गरेको पाण्डेले बताउनुभयो ।
हाल जिल्लामा चार प्रकारको चामल बिक्री भैईरहेको छ । जसमा सबैभन्दा धेरै जापानी चामल बिक्री हुने गरेको कम्पनीका बासुदेब रिजालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो , “ हामीसँग जिल्लामा चार प्रकारका चामल छ ति सबै चामलको मुल्यमा दशप्रतिशत छुट दिइएको छ । दैनिक हामीले ६० क्विन्टल भन्दा धेरै बिक्री गरेका छौँ तर पनि मौज्दात छ । ”
बन्दाबन्दीमा कम्पनीले दश प्रतिशत छुट गर्दा जिरा चामल प्रति क्विन्टल ६हजार १०० बाट घटेर ५ हजार ४९० भएको छ भने साना चामल ५हजार ४९० बाट घटेर ४ हजार ९०५ छ । त्यसैगरी मध्यम चामल ५ हजार २०० बाट घटेर ४ हजार ६८० रुपैयाँ तल झरेको छ र जापानी चामल ४हजार ४०० बाट ३हजार ९६० भएको छ ।
जिल्लामा खाद्यान्नको मौज्दात छ हामी सबै स्थानीयतहसँग निरन्तर खाद्यान्न र अन्य दैनिक अत्याबश्यक सामग्रीहरुको बारेमा छलफल गरी रहेकोले तत्काल खाद्यान्न समस्या नभएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिनुभयो ।
प्रजिअ सुनारले भन्नुभयो ,“ ढुवानीमा सहजता छ जनताले भनेजती चामल नुन पाउनुभएको छ , यहाँको चामल प्रयोग गर्दा स्थानीय सरकार र सर्वसाधारणलाई समेत राम्रो भएको छ । ”
बन्दाबन्दीको समयमा पाएको दश प्रतिशत छुट र भोली समस्या आउला कि भनेर घरमा मौज्दात राख्नको लागि पनि खाद्यान्न खरिद गरी रहेको हुन सक्ने कम्पनीका प्रमुख कमलराज पाण्डेले बताउनुभयो ।
जिल्लामा चामल बिक्री दर दैनिक बढेसँगै कम्पनीले थप खाद्यान्न ढुवानी कार्यलाई तिव्रता दिएको प्रमुख पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “मुड्केचुलामा पनि अनुमति पाएकोले ढुवानी भैरहेको र जिल्लाका अन्य सबै क्षेत्रमा चामल ढुवानी भैरहेको छ ।”
यस बर्ष मात्रै ढुवानी हुनेपर्ने जिल्लाको कोटाको १८ हजार चामल एक हजार मात्रै ढुवानी भएको छ । हाल जिल्लामा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड डोल्पा शाखामा ३ हजार,जुफालमा २ हजार र काईगाँउमा ६ सय क्वीन्टल मौजदात चामल रहेको छ ।










