ढोरपाटनमा टेन्डर खुल्‍यो, आएनन् सिकारी

बागलुङ — चालु वर्षको दोस्रो सिजनमा सिकारका लागि बोलकबोल भए पनि ढोरपाटनमा यसपटक कोही सिकारी आएनन् ।

कोभिड–१९ को संक्रमण फैलिएर नेपाल र संसारका धेरै मुलुकमा बन्दाबन्दी भएपछि सिकारी रोकिएका हुन् ।यतिबेला हवाई उडान बन्द छ । सिकारका लागि आउन चाहने अधिकांश युरोप र अमेरिकीहरू

पनिकोरोना संक्रमणको जोखिममा परेकाले आउन नपाएका हुन् । चालु वर्षको दोस्रो सिजनका लाग ११ नाउर र ३ झारल सिकार गर्न पाउने सरकारी व्यवस्था थियो । त्यसका लागि गत चैत ४ मै टेन्डर सम्झौता भएको थियो । चैतदेखि वैशाख पहिलो सातासम्म सिकारी ढोरपाटनमा आएर बस्थे । उनीहरूले ९ लाखदेखि १२ लाख रुपैयाँसम्मको बोलकबोल गरेर एउटा नाउर मार्न तयार हुन्थे । यसरी बर्सेनि २ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन हुने गरेको थियो । ढोरपाटनमा बन्दाबन्दीले यसपटक झन्डै एक करोड राजस्व गुमेको सहायक संरक्षण अधिकृत रमेश यादवले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले खुलाएको टेन्डरमा सिकारीले प्रतिस्पर्धाका आधारमा सिकार गर्न अनुमति माग्छन् । गत वर्षको दोस्रो सिकारमा एउटै नाउरको १३ लाख ५१ हजार र झारलको १३ लाख ५० हजार रुपैयाँ राजस्व उठेको थियो । ‘यो वर्ष पोहोरको अंकमा केही बढाएर सिकारी आउने बेला भएको थियो, कोरोना संक्रमणले रोकियो,’ उनले भने । आरक्षले आसपासको बस्तीका मानिसलाई लक्षित गरेर सेनासँगको सहकार्यमा क्वारेन्टाइन निर्माण गराएको छ । विश्वभरि नै जोखिम भएकाले राजस्व तिरेका सिकारीलाई पनि सरकारले अर्को सिजनमा मात्रै बोलाउने तयारी गरेको यादवले बताए ।

युरोप र अमेरिकाका सिकारी हेलिकप्टर लिएर सिधै ढोरपाटन पुग्छन् । उनीहरूले ढोरपाटनमा बढीमा २१ दिनसम्म बसेर सिकार गर्न पाउँछन् । हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालयन आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स र नेपाल वाइल्ड लाइफ समारिजलगायतले सिकारी ल्याउने काम गर्छन् । हरेक वर्ष कात्तिक महिनामा पहिलो सिजन र चैत–वैशाखमा दोस्रो सिजनका लागि विभागले टेन्डरमार्फत सिकार खुलाउँछ ।





error: Content is protected !!