प्रचण्डलाई जुत्ता हान्ने युवकका बुबाको नाम शहीदको सूचिमा भेटिएन

काठमाडौं ः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवाले आफूलाई सहीदको छोरो दाबी गरेका छन् । तर, माओवादीले तयार पारेको ११२२० जना सहीदको सूचीमा रतनका पिताको नाम छैन । १०९४ जना बेपत्ता योद्धाहरुको सूचीमा पनि रतनका बुबा मनु तिरुवाको नाम छैन ।

साविक माओवादीले संकलन गरेको सहिद र बेपत्ताको सूचिमा तिरुवाका बुबाको नाम फेला नपरेको हो ।

प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन सहिदका छोरा हुन् कि हैनन् भनेर हामीले सिंजा गाउँपालिकाका अध्यक्षलाई पनि सोध्यौं ।

सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले रतनका बुबा भारत गएका बेला उतै बेपत्ता भएको तर रतनले सहिद भएको भनेर राज्यबाट विभिन्न लाभ लिइरहेको बताए ।

यसैवीच, तिरुवाका बुबा माओवादी युद्धका क्रममा मारिएको भन्ने रतनको दाबी असत्य भएको नेकपा जुम्लाले आइतबार एक विज्ञप्तिमार्फत जनाएको छ ।

नेकपा जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले विज्ञप्ति जारी गरेर तिरुवा नेकपामा नरहेको उल्लेख गरेका हुन् ।

‘जति निन्दा गरे पनि नपुग्ने उक्त अराजनीतिक उद्दण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला सिञ्जा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै शहीद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म नभएको उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गर्दछु’ उनले विज्ञप्तिमा भनेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!