तल्लो डोल्पाका विद्यालय खुले, उपल्लो डोल्पाका अझै बन्द

डोल्पा ः चिसोका कारण बन्द भएका डोल्पाका विद्यालयहरु दुई महिनापछि खुलेका छन् । वार्षिक परीक्षाको नतिजा निकालेर गत पुस पहिलो सातादेखि बन्द भएका तल्लो डोल्पाका पाँच वटा स्थानीय तहका विद्यालयहरु जाडो कम भएसंगै संचालनमा आएका हुन् ।
तल्लो डोल्पामा पर्ने त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका, काईके, जगदुल्ला, मुड्केचुला गाउँपालिकाका ८८ बिद्यालय खुलेका हुन् ।
अत्याधिक चिसोले गर्दा पठनपाठन सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न कठिन हुने भएकाले प्रत्येक बर्ष पुस र माघ दुई महिना तल्लो डोल्पाका सम्पुर्ण बिद्यालयहरु बन्द हुने शिक्षा विकास तथा समन्वय इकाई डोल्पाले जानकारी दिएको छ ।
यस समयमा स्थानीय शिक्षक र बिद्यार्थीहरु घरमै बस्ने र जिल्ला बाहिरका शिक्षकहरु हिउँदे बिदा मनाउन घरतिर जाने इकाईले जनाएको छ । फागुन लागेपछि मात्रै शिक्षक र बिद्यार्थीहरु बिद्यालय पुग्ने सुरसार गर्छन् ।
फागुन १ गते नै बिद्यालय खुलेपनि जिल्ला बाहिर घर भएका शिक्षकहरु र हिउँदे बिदामा गएका विद्यार्थीहरु पहिलो हप्ताभित्र बिद्यालय पुग्ने गरेको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने त्रिपुरा माध्यामिक बिद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए ।
डोल्पामा फागुन १ गते देखिनै नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पन्ध्र दिनको भर्ना अभियानपछि मात्र पढाइले गति लिने उपाध्यायले बताए ।
डोल्पामा एकै बर्ष दुई शैक्षिक सत्र लागू हुने गर्दछ । तल्लो डोल्पामा फागुन १ गतेदेखि नै नयाँ शैक्षिक सत्र सुरु हुने र मंसिर अन्तिममा अन्त्य हुने गर्छ ।
उपल्लो डोल्पाका तीनवटा स्थानीय तहमा भने बैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुने र कात्तिक अन्तिममा शैक्षिक सत्रको अन्त्य हुने गर्दछ ।
उपल्लो डोल्पाका बिद्यालय अझै बन्द
उपल्लो डोल्पाका तीन स्थानीय तहका सम्पुर्ण बिद्यालयहरु अझै खुलेका छैनन् । उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध, छार्काताङसोङ् र शे–फोक्सुण्डो गाउँपालिकाका २४ वटा बिद्यालयहरु गत कात्तिक महिना देखि नै बन्द भएका हुन् ।
प्रत्येक बर्ष कात्तिक अन्तिममा बन्द भएका बिद्यालयहरु ६ महिनापछि बैशाखमा मात्र खुल्ने गर्छन् ।
यस समयमा अत्याधिक हिमपात हुने र चिसोले बस्न नसक्ने भएकाले स्थानीयसहित घरमा ताल्चा मारेर चिसो छल्न बेसी झर्ने भएकाले कात्तिक अन्तिमदेखि बैशाख पहिलो सातासम्म सम्पूर्ण बिद्यालय बन्द हुने गर्छन् । डोल्पामा कुल १ सय १२ वटा बिद्यालय छन् ।









