जुम्लामा हवाई मार्गबाट समेत लागु औषध ओसार पसार

मानदत्त रावल
जुम्ला ः जुम्लामा हवाई मार्गबाट लागु औषध भित्रिने गरेको छ । सामानको बीचमा राखेर व्यापारी तथा सेवनकर्ताले लागु औषध ओसार पसार गर्ने गरेको तथ्य फेला परेको हो ।

आइतबार पत्रकार सम्मेलन गरी लागु औषध ओसार पसारको घटना सार्वजनिक गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयले यस्तो घटना सार्वजनिक गरेको हो । जुम्लामा हवाई मार्गबाट लागुऔषध भित्रिन्छ भन्ने कुरा विश्वास गर्न सकिँदैन । तर, निगरानी बढाएपछि सुन्तलामा समेत लागु औषध ब्राउन सुगर०ओसार पसार गरेको भेटियो, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी भने ।

जिल्लामा फलफूलको काटुनभित्र लागु औषध ल्याउन गरेको प्रहरी नायव उपरीक्षक धामीले बताए । नेपालगंज हुँदै जिल्लाको विमानस्थलसम्म लागु औषध आइपुग्दो रहेछ,’ उनले भने । गत बुधबार सीता एयरलाइन्सको जहाजमा १२ दाना सुन्तला, साबुन र स्याम्पुका डिब्बामा लागु औषध लुकाएर लगिएको भेटिएको थियो । यस्तै, कण्डममा लुकाएर लगिएको ६ ग्राम ब्राउन सुगर विषेश सुचनाका आधारमा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले लागु औषध पठाउने र लिने व्यक्तिलाई पक्राउ गरेको छ । उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । त्यसअघि प्रहरीले १७ मंसिरमा तिला गाउँपालिका ३ कुडारीमा एक ग्राम लागु औषध ब्राउन सुगरसहित एक नाबालकलाई पक्राउ गरेको थियो । ती बालकको बयानका आधारमा थप तीन जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक धामीले जानकारी दिए ।




सम्बन्धित समाचार


error: Content is protected !!