सल्यान बनगाडमा हेलिप्याड निर्माण

इन्द्र बुढाथोकी सल्यान ,६ पुष । पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका सुवाज गण सल्लीबजार क्याम्पले हेलिप्याड निर्माण गरेको छ । बनगाड कुपिण्डे नगरपालिकाको १० लाख आर्थिक सहयोगमा नेपाली सेनाको श्रमदानबाट उक्त हेलिप्याड निर्माणकार्य सम्पन्न भएको हो ।
आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि नगरमा हेलिप्याड निर्माण गरिएको बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुनले जानकारी दिए । यस्तै नगरले अर्को हेलिप्याड निर्माण गर्ने तयारी गरेको छ ।
सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि ‘एयर एम्बुलेन्स’ शुरू गरेपछि हेलिप्याड बनाउन थालिएको हो । हेलिप्याड निर्माण भए आन्तरिक तथा बाह्य पर्यटकको आवतजावतसमेत सहज बनाउने विश्वास लिइएको छ ।










