लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान ः गाडीमा महिला सिटको अनुगमन

जाजरकोट ः गत सोमबारदेखि सुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत गाडीमा महिला सिटको अनुगमन गरिएको छ । भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीलगायत सरोकारवालाको टोलीले बुधबार यातायातका साधनमा महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि सिटको व्यवस्था भएरनभएको बारे अनुगमन गरेको हो ।

अभियान ‘समानताको पुस्तास् बलात्कारविरुद्धको ऐक्यवद्धता’ नारासहित सुरु भएको हो । अभियानको क्रममा भेरी नगरपालिकालगायत सरोकारवालाले विभिन्न महिलामैत्री क्रियाकलाप सञ्चालन गर्दै आएका छन् । अनुगमनको क्रममा अधिकांश यातायातका साधनले महिला लागि सिटको व्यवस्था नगरेको पाइएको भण्डारीले वताइन् । आधा दर्जन गाडीको अनुगमन तथा निरीक्षण गर्दा कुनै पनि साधनले उक्त व्यवस्था नगरेको पाइएपछि स्पष्टीकरण सोधिएको उनको भनाइ छ । ‘यातायातका साधनमा समेत महिलामाथि हिंसा हुने गरेकाले अनुगमन गरिएको हो,’ उनले भनिन्, ‘सबै यातायातका साधनमा अनिवार्य महिलामैत्री सिटको व्यवस्था गर्न निर्देशन दिइसकिएको छ ।’

बहुविवाह, बालविवाह, बलात्कार, घरेलु हिंसा, असमानता, लैगिंक विभेद, कुसंस्कार, छाउपडीलगायतले महिला हिंसा बढाएको उनले बताइन् । ‘यातायातका समाधनमै विभेद पाइयो,’ उनले भनिन्, ‘पुरुष र महिलाबीच समान अधिकार नभएसम्म महिला हिंसाको अन्त्य हुने देखिन्न ।’ कागजको अधिकारले सार्थकता नपाएको उनी बताउँछिन् । अनुगमनमा प्रहरी, अधिकारकर्मीलगायतको सहभागिता थियो । महिला र अपांगता भएका व्यक्तिका लागि आरक्षण सिटको व्यवस्था नगर्ने साधनका चालकलाई पहिलोपटक चेतावनी दिएर छोडिएको प्रहरी निरीक्षक केशर कार्कीले बताए ।

अभियानको क्रममा यसअघि सदरमुकाम खलंगामा र्‍याली प्रदर्शन र कोणसभा सम्पन्न भएको छ । अभियानका सहभागी सरोकारवालाले महिलामाथि हुने घरेलु हिंसा र दुर्व्यवहारविरुद्ध चर्चा गर्दै ग्रामीण क्षेत्रसम्म अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । लै‌ंगिक हिंसाविरुद्धको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन वडा र टोलस्तरसम्म १६ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरिने उपप्रमुख भण्डारीले जानकारी दिइन् । अभियानको क्रममा विद्यालयस्तरीय हाजिरीजवाफ, वक्तृत्वकलालगायत विभिन्न प्रतियोगितासमेत आयोजना भइरहेको उनको भनाइ छ ।




सम्बन्धित समाचार


error: Content is protected !!