उपनिर्वाचन बहिष्कार गर्दै हिँड्ने चारजना पक्राउ

सल्यान : उपनिर्वाचन बहिस्कारको अभियानमा लागेका चारजनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ।
मसिंर १४ गते शनिबार हुने उपनिर्वाचनलाई बहिस्कार गरौँ भन्ने अभियानमा लागेका सिपि गजुरेल अध्यक्ष रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका चारजना नेता कार्यकर्तालाई पक्राउ गरिएको हो। उनीहरूलाई उपनिर्वाचन हुन लागेको कुमाख गाउँपालिका ५ बाट मंगलबार पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा मोर्चाका कर्णाली प्रदेश इन्चार्ज एवं पोलिटब्युरो सदस्य सुर्खेत घर भएका ६० वर्षीय चक्रपाणि शर्मा, दैलेख घर भएका केन्द्रीय सदस्य ४० वर्षीय दीपक शाही, सल्यानको कुमाख गाउँपालिका ५ घर भएका ६८ वर्षीय चक्रबहादुर शाह र कुमाख गाउँपालिका ७ घर भएका ३८ वर्षीय हिरालाल गोसाई रहेको प्रहरीले जनाएको छ।
जिल्लाको कुमाख गाउँपालिका–५, बल्लेमा चुनाव बहिस्कारको पर्चा वितरण गरिरहेको अवस्थामा घटनास्थलबाटै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
उनीहरूको साथबाट सिपि गजुरेलले हस्ताक्षर गरेको ‘संसदीय उपचुनाव बहिष्कार गरौं, संघीय जनगणतन्त्रको दिशामा अघि बढौं’ भन्ने नारा लेखिएको पर्चा भेटिएको प्रहरी प्रमुख खतिवडाले बताए।
पक्राउ परेका चारैजनालाई जिल्ला प्रशासन कार्यालयले बुधबार ७ दिनको म्याद थप गरी अनुसन्धान थालेको छ। उनीहरू अहिले प्रहरी हिरासतमा रहेका छन्। चुनाव बिथोल्ने जो सुकैलाइ पनि कडा कारबाही गरिने प्रहरीले बताएको छ ।








