दृष्टिविहीन विद्यार्थीको छात्रवास जीर्ण

सल्यान : शारदा नगरपालिका–१ शीतपाटीमा रहेको छात्रावासमा बस्दै आएका दृष्टिविहीन बालबालिकाहरुले कष्ठपूर्ण दैनिकी गुजार्दै आइरहेका छन्। शीतपाटीस्थित शिवजन माध्यमिक विद्यालयले सञ्चालन गरेको छात्रावासमा रहेका दृष्टिविहीन बालबालिकाले कोठालगायतका अभाव झेल्दै आएका हुन्। आठ कोठे छात्रावास साँघुरो र जीर्ण भएको छ।

विद्यार्थीको संख्याअनुसार कोठाको अभाव छ। नयाँ भवन निर्माण र पुरानो भवन मर्मतसम्भार तर्फ कसैले ध्यान नदिएको छात्रा कमला बिकले गुनासो गरिन्। छात्रावासमा घेराबार छैन। घेराबार र गेट नहुँदा आफूहरुले असुरक्षित महसुस हुने गरेको विद्यार्थीहरु बताउँछन्। यस्तै, भवनहरु अपाङ्गमैत्री छैनन्।

चिसोमा अत्यधिक चिसो र गर्मीमा अत्यधिक गर्मी हुने गरेको विद्यार्थीहरुको गुनासो छ। छात्रावासमा एक शिक्षक, एक सहयोगी रहेका छन्। नियमानुसार १५ जनाभन्दा बढी विद्यार्थी भएमा दुई सहयोगी र शिक्षक हुनुपर्नेमा यहाँ आवश्यक जनशक्ति छैन।

शिवजनको छात्रावासमा २५ विद्यार्थी बस्दै आएका छन्। जीर्ण भवन मर्मत तथा नयाँ निर्माणका लागि स्थानीय, प्रदेश र संघ सरकारसँग आग्रह गरे पनि सुनुवाइ नभएको शिक्षक राजेश अर्यालले बताए।





error: Content is protected !!