प्रहरीले आँखा खोलिदियो – बालविवाह नगराउने पुरोहितको प्रतिबद्धता

जाजरकोटका पुरोहित(ब्राहमण)ले बालविवाह नगराउने प्रतिवद्धता ब्यक्त गरेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटले आयोजना गरेको पुरोहितहरुका लागि एक दिने बालविवाह विरुद्धको प्रशिक्षण कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता गरेका हुन् ।

एक तथ्यांक अनुसार जाजरकोटमा १९ बर्ष नपुग्दै ७४ प्रतिशत बालबालिकाको विवाह हुने गर्दछ । उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्ध विच्छेद लगायतका घटना बढ्दै गएपछि प्रहरीले बालविवाह गर्ने कार्यमा प्रत्यक्ष संलग्न हुने पुरोहितहरुका लागि प्रशिक्षण कार्यक्रम राखेको हो । बालविवाह गर्ने केटाकेटीले आमाबाबुको सहमतीमा मागी विवाह वा भागी विवाह गर्ने गर्दछन् । त्यसपछि सामाजिक परम्परा अनुसार पुरोहित बोलाएर विधि पुर्वक सिन्दुर हालेपछि विवाहले बैधता पाउने चलन छ ।

‘अब देखि उमेर नपुगेका केटाकेटीले विवाह गरिदिनु पर्यो भनि बोलाए भने हामी जाँदैनौ उल्टै सम्झाएर पठाईदिन्छौ,’३० बर्ष देखि पुरोहित्याईको काम गदै आएका जगतिपुर मटेला निवासी सत्य प्रसाद शर्माले भन्नुभयो –‘प्रहरीको प्रशिक्षणले हाम्रो आँखा खोलीदिएको छ । हामीले मात्र इमान्दारीता देखायौ भने बालविवाह निकै घट्छ ।’ जिल्लाका १५ जना पुरोहितको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा बालविवाहले समाजमा पार्ने असर, आमा र शिशुको स्वास्थ्यमा पर्ने असर, त्यसका सामाजिक असरहरु, रोजगारीमा पर्ने असर र नियन्त्रणका उपायबारे छलफल भएको डिएस्पी श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँले भने –‘प्रशिक्षण निकै फलदायी भएको छ । पुरोहितहरुले बालविवाह नगर्ने प्रतिबद्धता जनाउनु भएको छ यो एकदमै खुसीको कुरा हो ।’ बालविवाह विरुद्धका विभिन्न अभियान अन्र्तगत पुरोहितलाई तालिम पनि महत्वपुर्ण भएको उहाँको भनाई छ । प्रहरीले जिल्लामा आमा समुह र स्कुले विद्यार्थीलाई बालविवाह विरुद्ध प्रशिक्षण गरिरहेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । उहाँले जनचेतना जगाउन सकियो र सवै पक्षबाट सहयोग भयो भने बालविवाह न्युनिकरण गर्न सकिने विश्वास ब्यक्त गनुभयो ।





error: Content is protected !!