पुल निर्माण नहुँदा काठेपुलबाटै गाडी वारपार

डोल्पा ः जाजरकोट – डोल्पा सडक खण्ड भित्र पर्ने दुनै–जुफाल खण्डमा पर्ने रुपगाड खोलामा यातायातका साधन वारपार गर्न काठको पुल निर्माण गरिएको छ । गत सावनमा आएको बाढीले काठको पुल भत्काएका कारण अवरुद्ध भएको यातायात सेवा सुचारु गर्न पुर्ण नगरपालिकाको पहलमा अस्थायी काठेपुल निर्माण गरेको हो ।
पुल बगाएपछि दुई खण्डमा यातायातका साधन सञ्चालनमा थिए । उक्त सडकखण्डमा सात वर्षदेखि आन्तरिक रुपमा यातायातका साधन सञ्चालन भइरहेका छन् । रुपगाडमा पुल निर्माण गर्न चार वर्षअघि ठेकेदार कम्पनीलाई जिम्मा दिइएको भए पनि काम अझै अलपत्र छ । डिजाइन फेरिएपछि पुल निर्माणको काम अलपत्र परेको हो ।
अस्थायी काठेपुल निर्माण गरी जिप सिधै दुनैबाट जुफाल जाने व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिनुभयो । यहाँले भन्नुभयो , “पहिले पनि काठेपुलबाटै जिप वारपार हुने गरेका थिए, तीन साताअघि पुल भत्किएपछि यातायातका साधन अबरुद्ध बनेका थिए, अब काठको पुलबाटै जिप आवतजावत गर्न सहज भएको छ ।’
साविक जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा ठेकेदार हिमबहादुर बुढालाई दिएको थियो । जिल्ला समन्वय समितिका सदस्य प्रेमलाल बिकले जिविसको खारेजीपछि पुल निर्माणको जिम्मा कुन निकायले लिएको छ भन्ने जानकारी नभएको बताउनुभयो ।
निर्माण गरिएका संरचनासमेत जीर्ण बन्दै गएका छन् । पुल निर्माणको जिम्मा लिएका ठेकेदार बुढाले डिजाइन फेरिएकाले निर्माणमा ढिलाइ भएको दाबी गनुभयो ।
ठूलीभेरी नगरपालिका प्रमुख गणेशबहादुर शाहीले पक्की पुल निर्माण नहुँदा यात्रुले वर्षौदेखि जोखिमपूर्ण यात्रा गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो , “अहिले डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ, संघीय र प्रदेश सरकारले पुल निर्माणका लागि ध्यान दिन जरुरी छ, स्थानीय सरकारको बजेटबाट पक्की पुल निर्माण गर्न असम्भव छ, त्यसैले माथिल्ला सरकारको ध्यानाकर्षण गराइरहेका छौं ।’ उहाँले नगरपालिकाले आकस्मिक कोषबाट खर्च हुनेगरी काठको साँघु निर्माण गरिएको जनाउनुभयो ।








