क्षमता भन्दा यात्रु बढि, ट्राफिक र प्रहरी मुखदर्शक 

कालीबहादुर नेपाली जाजरकाेट । बारेकोट गाउँपालिका २ का भीमबहादुर विक सदरमुकाम खलंगा बाट दसैँ मान्न घर जाँदै थिए ।

साँघुरो र खाल्डाखुल्डी परेको सडकको यात्रामा सिटमा मात्र होइन, हुटभरि पनि उत्तिकै यात्रु बसमा सवार थिए । त्यतिकै सामान राखिएको थियो । सवारीभित्र टेक्न मिल्ने ठाउँसमेत थिएन् । मान्छे थुनिएका थिए भने हुटमा समाउन मिल्ने ठाउँ रहेसम्म मानिसले भरिएका थिए ।

क्षमताभन्दा करिब तीन गुणा बढि लोड भएको उक्त बसले अचानक सडक छोड्यो । भीरको मुखैमा रोकियो । सबै यात्रुहरु डरले चिच्याए । झण्डै बस दुर्घटनामा परेन् । त्यसपछि सबै यात्रुको मुख बाट एउटै शब्द निस्कियो ‘गाउँकोे सफल यात्रा गर्नु, युद्ध जिते समान हुन्छ ।’  ग्रामीण क्षेत्रमा सञ्चालन हुने ती गाडीको क्षमताभन्दा तीन गुणा बढी यात्रु, ग्रामीणको सडकजस्ता कारणले यात्रुहरु निकै त्रासका बाबजुत पनि यात्रा गर्न बाध्य छन् । ‘क्षमताभन्दा करिब तीन गुणा यात्रु र सामान कोचाकोच थियो, खुट्टा टेक्ने ठाउँसमेत थिएन्।’

विकले भने ‘ओभरलोडका कारण बस अनियन्त्रित हुन्छ । झण्डै बस खसेन् ।’ जाजरकोटका नलगाड,बारेकोट ,रिम्ना लगायतका ग्रामीण ठाउँमा जाने तथा आउने यात्रुहरु प्रायः त्रासैत्रासमा यात्रा गर्न बाध्य छन् । ‘बसमा क्षमताभन्दा तीन गुणा यात्रुहरु हुन्छन्’ उनले भने ‘खाल्डाखुल्डी भएको ग्रामीण सडकमा गाडी निकै डरलाग्ने गरी गुडिरहेको हुन्छन् ।’ बारेकोट बाट सदरमुकाम  फर्कदा पनि उनलाई यात्रा गर्न निकै डर लागिरहेको थियो ।

आउँदा पनि गाउँबाट फर्कने यात्रु बसको क्षमता भन्दा तीन गुणा बढी थिए । उनले भने ‘भिरको सडक, गाडी कतिबेला तलतिर ढल्किन्छ , कतिबेला माथितिर ढल्किन्छ । त्यतिबेला निकै डर लागिरहेको थियो, तर यात्रा सफल भयो ।’ चाडपर्वको समयमा हरेकले ग्रामीण क्षेत्रको असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । ग्रामीण क्षेत्रको कच्ची सडकमा गाडीको संख्या कम तर यात्रु धेरै हुने हुँदा दुर्घटना हुने गरेका छन् ।

सडक निर्माण गर्ने जिम्मेवारीमा रहेको निकाय, ठेकेदारहरुको लापरवाहीले गर्दा अहिलेसम्म ग्रामीण क्षेत्रमा सडकको स्तरबृद्धि हुन सकेको छैन, जसले गर्दा पनि ग्रामीणको यात्रा जोखिमपूर्ण रहदै आएको यात्रुहरुले गुनासो गरेका छन् ।

चाडपर्वको समयमा घर जाने र चाडपर्व सकिएपछि कर्मथलो फर्कने यात्रुहरुको भिडले गर्दा जोखिम यात्रा गर्नुपर्ने बाध्यता रहदै आएको छ । नालीसमेत नबनाइएका साँघुरो र  मोड नपुग्ने घुम्तीहरु पार गर्नुपर्छ । यस्तो सडकमा गाडीहरु सकि नसकी गुड्ने गरेको अर्का यात्रु नर पदमबहादुर सिहंले बताए ।  यात्रुहरु त्रासमा यात्रा गर्नुपर्ने बाध्यता हुन्छ ।

प्रायः बसहरुले छत तथा सिटभन्दा बाहिर राखेका यात्रुहरुलाई प्रहरी चेकपोष्ट आउनु भन्दा केही अगाडि ओराल्ने र पोष्ट पार गरिसकेपछि गाडीमा चढाउने गर्दै आएका छन् । यस्ता दृश्य प्रहरीले देखेपनि नदेखे झै गरी गर्छन् । जसले गर्दा यात्रुहरु जोखिम यात्रा गर्न बाध्य छन् ।  नलगाड नगरपालिका ३ का कमल विक दशैं तिहार मनाउन घर जान मन लागेको छैन । ग्रामीण भेगमा गाडीमा कोचाकोच गरी ज्यानै जोखिम मोलेर घर जानु बेकार हुने उनको भनाइ छ । विकले भने, ‘जताततै सडक दुर्घटनाको मात्रै खबर सुन्छु, जीर्ण  सडकमा कोचाकोच यात्रुले दुर्घटनाका घटना बढेका छन् ।’

अध्ययन तथा जागिरलगायत अन्य विभिन्न शिलशिलामा शहर झरेकाहरु दशैं तिहार मान्न घर जाने गर्छन जसले गर्दा पनि ग्रामीणमा त्यतिबेला यात्रुको निकै चाप हुने गरेको छ । सार्वजनिक सवारीमा धेरैभन्दा धेरै यात्रु कोचेर पैसा कमाउने ‘मौका’ छोपेका यातायात व्यवसायी सवारीको क्षमताभन्दा पनि धेरै यात्रु राख्ने गर्छन् । चाडपर्व वा बिदाको समयमा अझै धेरै यात्रु हुने र  सकेसम्म सबैलाई गाडीमा चढाएर पैसा कमाउने दाउमा यातायात व्यवसायी रहेको यसबाट प्रष्ट हुन्छ । गन्तव्यमा छिटो पुग्न चाहने यात्रुको स्वभाविक चाहनालाई व्यवसायी र सवारी साधनमा काम गर्ने कर्मचारी उद्दत छन् ।

प्रहरी प्रशासन भने यतातिर आँखा लगाउन पनि चाहँदैन । सार्वजनिक सवारीमा क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने कानुनी व्यवस्था पालना गराउन खटिएका उनीहरु नै यसतर्फ बेवास्ता गर्दा सम्भावित दुर्घटना निम्त्याउने यसअघि ग्रामीण सडकमा भएका दुर्घटनाहरुले पुष्टि गर्छन् ।

जहाँ क्षमताभन्दा बढी यात्रु चढाएर सवारी नियन्त्रण बाहिर जानु वा गैर चालकले चलाउँदा नै धेरै दुर्घटना भएको स्वयम् प्रहरीका रेकर्डमा छन् । विगतमा दर्जनौं यात्रुको ज्यान जाने गरी भएका सवारी दुर्घटनाबाट पाठ सिक्नुका सट्टा पुन त्यस्तै दुर्घटना निम्त्याउन प्रहरी प्रशासन र यातायात व्यवसायी उद्दत छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!