संकटमा ऐतिहासिक सम्पदा

जाजरकोट ः जिल्लाका दर्जन धार्मिक तथा ऐतिहासिक सम्पदाको अस्तित्व संकटमा परेको छ  । तीन–चार सताब्दी पुराना मठमन्दिर, दरबारलगायत सम्पदा संरक्षण अभावमा संकटमा परेका हुन्  ।

कुशे गाउँपालिकाको पैंक मष्टा मन्दिर, जाजरकोट दरबार, भेरी नगरपालिकाको कालेगाउँस्थित शिवालय मन्दिर र मछाइनास्थित मालिका मन्दिर, तलगाड थल्लुस्थित भगवती मन्दिर, बारेकोट नायकबाडाको राँगामाजिला र ठाकुरजी मन्दिर, पजारुको ढुंगे देवल, जगतीपुरको बायु घट्टलगायत धार्मिक तथा ऐतिहासिक सम्पदा संरक्षणको पर्खाइमा छन् । झण्डै ३ सय बर्ष पुराना यी सम्पदाको संरक्षणतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

कुशे गाउँपालिका–९, पैंकस्थित ऐतिहासिक शक्तिपीठको रुपमा परिचित ५ सय बर्ष पुरानो मष्टा देवता मन्दिर पनि संरक्षणकै अभावमा ओझेलमा परेको छ । शक्तिपिठको जीर्णोद्वार र पुरातात्विक सामाग्रीको संरक्षण नहुँदा स्थानीय चिन्तित बनेका छन् ।

अष्टमी र पूर्णिमा बाहेकमा भक्तजनको उपस्थिति पातलिँदै गएको छ । मंसिर र जेठ पूर्णिमा पर्वमा भने भक्तिभाव राख्न आउने पाहुनाको संख्या नघटेको धामी खड्गबहादुर रोकायाले बताए । मष्टा देवतासँग असिना तथा बाढीपहिरो रोक्ने, महामारीजन्य रोग फैलिन नदिने, निःसन्तानलाई सन्तान दिने, धन बृद्धि गर्ने लगायत शक्तिको विश्वास रहेको रोकायाको भनाइ छ । सल्यान, दाङ, प्यूठान, रोल्पा, रुकुम, बर्दिया, सुर्खेत, बाँकेलगायत जिल्लाबाट पूजाआजा गर्न आउँछन् । मष्टा देवतालाई शिवजीको अर्को रुप भनेर विश्वास गरिन्छ ।

मष्टा मन्दिरमा भदौ पूर्णिमा, मंसिर पूर्णिमा र जेठ पूर्णिमामा हजारौं झक्तजनको उपस्थितमा विशेष पुजाआजा हुने गर्दछ । तर मन्दिरको जीर्णोद्धार र व्यवस्थापन सही रुपमा हुन सकेको छैन । सम्बन्धित निकायमा मन्दिरको जीर्णोद्धार तथा व्यवस्थापनका लागि पटक– पटक माग राख्दा पनि सुनुवाई नभएको धामी रोकायाले बताए । संरक्षण अभावमा परम्परागत शैलीमा निर्मित बहुमुल्य धातुको शिवमूर्ति, फटसिला, ८० किलोको घण्ट, अन्य मूर्ति तथा घण्ट, काठका मूर्तिलगायत हराएका छन् । स्थानीय भुमबहादुर रोकायाले सरोकारवालाको गैरजिम्मेवारीपूर्ण व्यवहारले ऐतिहासिक मष्टा मन्दिर र बहुमुल्य सामाग्री चोरी निकासी भइरहेको बताए ।

साढे ३ सय बर्ष पुरानो जाजरकोट दरबार पनि जीर्ण छ । बाइसे–चौबीसे राज्यको अस्तित्व तथा इतिहास बोकेको उक्त दरबार मर्मतसंभारको अभावमा जीर्ण बनेको हो । जाजरकोट दरबारको पुनर्निर्माणमा सम्बन्धित पक्षले वेवास्ता गरेको स्थानीयको आरोप छ । बि।सं। १४०० मा रजौटा राज्यको अस्तित्वमा आएको जाजरकोट राज्यमा अवस्थित उक्त दरबार तत्कालीन राजा गजेन्द्रनारायण शाहले निर्माण गरेका थिए । दरबार साततले छ ।

दरबारमा घाटघर, कोतघर, दुर्गाखोपी, भण्डार घर, भारदारी बैठक कक्ष, सिहंद्वार, मयुरद्वार, नारायणथानलगायत रहेको इतिहासमा उल्लेख छ । १९९० सालको महाभूकम्पका कारण दरबारको स्वरुप परिवर्तन भएको सिंहले बताए । महाभूकम्पपछि मन्दिर चारतलामा पुनर्निर्माण गरिएको थियो । अहिले त्यही दरबारको संरक्षण नहुदा पूर्वजको चिनारी र ऐतिहासिक सम्पदा ओझेलमा पर्न गएको भेरी नगरपालिका ३ का राजुराराज सिंहले बताए । त्यस्तै ऐतिहासिक जगतीपुर दरबारको भग्नावेशसमेत भेटिन छाडेको छ ।

राजाको कार्यकालमा बडादशैंमा बन्दुक पड्काउने, हर्षबडाइ गर्ने चलन रहेको छ । सिंहका अनुसार तत्कालीन राजाका १ सय थान बन्दुक र ५ दर्जन सिपाई थिए । दरबारमा हाल जिल्ला प्रशासन कार्यालय रहेको छ ।
जाजरकोट दरबार कला–संस्कृति तथा इतिहासको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । भक्तपुरबाट ल्याइएका चर्चित कालीगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीबाट इँटा बोकाएर दरबारको निर्माण भएको जानकार केदारबहादुर शाहले बताए ।

नेपाल एकीकरण अभियानका बेला पश्चिममा निकै शाक्तिशाली राज्यको रुपमा स्थापित राज्यको जाजरकोटे दरबार पुरातत्व विभागमा दर्ता भएको भएको छ । तर यसको रेखदेख र संरक्षणमा सम्बन्धित निकायको चासो नभएको शाहले बताए । दक्षिणतिर भेरी नदी तथा चौरजहारीको सुन्दर दृश्य, उत्तरमा कुशे पाटनको मनोरम दृश्य, पुर्वतिर सिस्ने हिमाल तथा होलु जिउला लगायतको दृश्यले भरिपूर्ण खलंगाको टाकुरोमा रहेको दरबारको सुन्दरता कुरुप बन्दै गएको छ । दसैंको पर्वमा जाजरकोट राज्यको ऐतिहासिक तथा सांस्कृतिक महत्व झल्काउने राँगो बली मेलासमेत हुन छाडेको छ । जगती सिंह पछिका राजा बिजय सिंहको घोडाले मन पराएको खलंगाको पिपलडाडामा दरबारको निर्माण भएको थियो । दरबारलाई तत्कालीन राजा प्रकाशविक्रम शाहले २०४२ सालमा जिल्ला पञ्चायतलाई ६० हजार रुपैयाँमा बिक्री गरेका थिए ।

वरिपरि दरबारको भव्य महल बीचमा रानीहरूले नुहाउने तलाउको अहिले नामोनिसान छैन । दुई सिंहले खुट्टा उचालेर आक्रोश व्यक्त गरेको चित्रण देखिने कलात्मक प्रवेशद्धार पनि छैन । सरकारले २०१७ सालमा राजा रजौटाहरू उन्मुलन गरेपछि राजाले बस्न छोडेको यो दरबारका ऐतिहासिक बस्तुहरू हराएसँगै इतिहास तथा सांस्कृतिक पनि लोप भएको शाहले बताए । दरबार पुनर्निर्माणका लागि पुरातत्व विभागको सक्रियतामा सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले चार बर्षअघि २७ करोडको लागत डिजाइन तयार गरी मन्त्रालयमा पठाएको थियो । तर अहिलेसम्म काम अघि बढ्न नसकेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । कार्यालयले दरबारको ऐतिहासिक पक्ष तथा कलात्मकता नबिग्रिने गरीे डिजाइन बनाएको थियो ।

बाइसेचौबीसे राज्य एकीकरणपूर्व अस्तित्वमा रहेको नलगाड १३, भगवतीस्थित भगवती मन्दिर पनि संकटमा परेको छ । दसैंको अष्टमी पर्वमा डोल्पा, रुकुम र जाजरकोटका भक्तजनले भब्य रुपमा पूजाआजा गर्दै आए पनि मन्दिरको भौतिक पूर्वाधार नहुँदा समस्या भएको रहेको स्थानीय बीरबहादुर मल्लले बताए । भगवती खुसी भएमा रोग, भोक हटाउने र बाली सप्रिने विश्वास गरिन्छ । मन्दिरका तीन दर्जन ऐतिहासिक मूर्तिहरू द्वन्द्वकालमा चोरी भएको उनले बताए । त्यस्तै तत्कालीन जाजरकोटी राजा दीपनारायण शाहको पालामा निर्माण भएका कालेगाउँस्थित तीनवटा शिवालय मन्दिर पनि जीर्ण अवस्थामै रहेका छन् ।

मन्दिरका गजुर तथा मूर्तिीहरू पनि चोरी भइसकेको स्थानीय रामजंग शाहले बताए । पहिलो जाजरकोटी राजा जगती सिंहका पालामा निर्मित जगतीपुरको शिबजी मन्दिरको नाम निसाना पनि नभएको शाहले बताए । यसैगरी संरक्षण अभावमा बारेकोट गाउँपालिका–४ को ठाकुरजी मन्दिर र राँगामाजिला मन्दिर, भेरी नगरपालिकाको–४ स्थित कालिका मन्दिर र वडा नं। ६ स्थित मालिका मन्दिर, जगतीपुर बायु घट्ट, ढुंगे देवल, शिवगुफा जीर्ण छन् ।

छेडागाड नगरपालिका–८, घोगीस्थित ऐतिहासिक देवल पनि ओझलमा परेका छन् । संरक्षण अभावमा ऐतिहासिक ढुंगे देवल जीर्ण बन्दै गएका छन् । ऐतिहासिक र पुरातात्विक महत्व बोकेका चार सय बर्ष पुराना यी स्तुप आकारका देवलको संरक्षणतर्फ कसैको ध्यान पुग्न नसकेको स्थानीय खम्बे खत्रीले बताए । बिकट गाउँमा भएकाले पनि सम्बन्धित निकायले देवलको संरक्षणमा बेवास्ता गरेको हो । १६ औं शताब्दीतिर भोटे राजाहरूले निर्माण गरेका १३ वटा कलात्मक देवल यतिबेला जीर्ण अवस्थामा रहेको स्थानीय गोविन्द गिरीले बताए ।

भोटेहरूले देवलभित्र सुन, चाँदी लगायतका मुल्यवान बस्तु लुकाएको आशंकामा २० बर्षअघि स्थानीयले उक्त बस्तु निकाल्ने निहुमा केही देवल भत्काएको उनले बताए । ढुंगैढुंगाबाट बनेका देवल मर्मतसंभार तथा प्रचारप्रसार गर्न सके पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने गिरीको भनाइ छ । पजारुको ऐतिहासिक देवललाई स्थानीय बासिन्दाले शिवको रुपमा पूजाआजा गर्दै आएका छन् ।

बिभिन्न ऐतिहासिक मन्दिर, गुफा, दरबारलगायत धार्मिक र पर्यटकीय स्थलको संरक्षणतर्फ सम्बन्धित निकायको ध्यान पुग्न जरुरी भएको स्थानीय तेजबिक्रम शाहले बताए । त्यसो गरिएमा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषण गर्न सकिने उनको भनाइ छ । ‘यहाँका प्राकृतिक सौन्दर्य, पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिकस्थल पर्यटकीय गन्तव्यको सूचीमा समेत परेका छैनन्,’ उनले भने, ‘तीनै तहका सरकारले यसतर्फ समयमै ध्यान दिन नसकेको भोलि पछुताउनुको बिकल्प छैन ।’




सम्बन्धित समाचार


error: Content is protected !!