गाउँघरमा देखिन छाड्यो चर्खे पिङ

सल्यान : मेलापर्वमा निकै रुचाइने चर्खेपिङ हिजोआज लोप हुँदै जान थालेको छ। केही वर्षअघिसम्म गाउँघरमा हुने मेलापर्वमा जानुको मुख्य उद्देश्य हुन्थ्यो चर्खेपिङ खेल्ने तर आजभोलि चर्खेपिङ लोप हुँदै जान थालेको छ।

मनोरञ्जनका आधुनिक सामग्रीले मेलापर्व भरिन थालेपछि चर्खेपिङको महत्व घट्दै जान थालेको छ। चाडपर्व र मेला मनाउने चलन फेरिएसँगै चर्खेपिङको पनि महत्व घट्दै जान थालेको छत्रेश्वरी गाउँपालिका २ दहखोलाका भीमबहादुर परियारले बताए। गाउँमा लाग्ने मेला, पर्वमा सबैको पहिलो रोजाई चर्खेपिङ खेल्ने हुन्थ्यो। तर आजभोलि मुस्किलले २/३ ठाउँमा मात्र देख्न पाइन्छ। उनले भने, ‘मेलामा चर्खेपिङ चढ्नका लागि गाउँ गाउँबाट मानिसको भीड लाग्ने गर्थ्याे। केही वर्षयता भने मुस्किलले २/३ वटा देख्न पाइन्छ।

मेलाको रौनकले चर्खे पिङले झल्काउथ्यो।’ युवापुस्तामा चर्खेपिङ प्रति रुचि घट्दै जाँदा पनि यो लोप हुन थालेको सिद्ध कुमाख गाउँपालिका २ का विरबहादुर चलाउनेले बताए। उनका अनुसार विगत वर्षमा तीज भित्रिएसँगै गाउँ गाउँमा पिङ बनाउनेको लहर चल्थ्यो। दशैँ तिहार सकिएपछि मात्र निकालिन्थ्यो।

दशैंको टिकाको दिन धर्ती छाड्दा पवित्र भइने मान्यता अनुसार गाउँगाउँमा पिङ हाल्ने प्रचलन थियो। उनले भने,’ विगतमा मेलापर्वको बेला पिङले ठूलो महत्व राख्थ्यो।बालबालिका देखि बृद्धवृद्धासम्म पिङ खेल्न भीड लाग्ने गर्थ्याे।’ स्थानीय परम्परागत लोक संस्कृतिका रुपमा रहेका पिङ, ढिकी जाँतो संरक्षणतर्फ स्थानीय सरकारले पहल चाल्नु पर्ने स्थानीयको भनाई छ।




सम्बन्धित समाचार


error: Content is protected !!