‘दिगो विकास लक्ष्य पुरा भएको’ होइन ‘दिगो विकास लक्ष्य कार्यान्वयनमा आएको ?

 

काठमाडौँ,  । दिगो विकास लक्ष्य २०३० कार्यान्वयनमा आएको चौथो वर्ष पुरा भएको उपलक्ष्यमा राष्ट्रिय दिगो विकास समिट २०१९ काठमाडौँमा सम्पन्न भएको छ ।

‘शान्त, न्यायपूर्ण र दिगो विश्वका लागि एक हौँ’ भन्ने नाराका साथ राष्ट्रिय योजना आयोग, संयुक्त राष्ट्रसंघीय निकाय, नागरिक तथा सामाजिक संघसंस्थाहरूको साझा सङ्गठन नेपाल दिगो विकास मञ्च, दक्षिण कोरीयाली सरकारको दातृ निकाय कोइका नेपाल लगायत विकास साझेदारहरूको संयुक्त आयोजनामा समिट आयोजना गरी दिगो विकास लक्ष्यको चौथो वर्ष मनाइएको गैसस महासंघ नेपालका अध्यक्ष जितराम लामाले बताए ।

कार्यक्रममा सामाजिक नागरिक संघसंस्थाहरूको तर्फबाट तयार पारिएको नागरिक अनुगमन प्रतिवेदन तथा लक्ष्य १६, शान्ति, न्याय र सबल संस्थाहरूको मानव अधिकार दृष्टिकोण केन्द्रित प्रतिवेदन बिमोचन गरी सार्वजनिक गरिएको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विकास अभियन्ताहरूले दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकार, संयुक्त राष्ट्रसंघ, विकास साझेदार, निजी संघसंस्था तथा नागरिक संस्थाहरूबीच साझेदारी र सहकार्यको विकल्प नरहेको बताएका थिए ।

कार्यकममा आयोगका उपाध्यक्ष कँडेलले दिगो विकास लक्ष्यका सूचकहरूको अवस्था र यसको प्राप्तिका लागि समन्वय र साझेदारीलाई अझै सशक्त बनाउन सम्मलेनले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए । ‘सरकार दिगो विकास लक्ष्य कार्यान्वयनका लागि गम्भीर छ र यसमा सबैको सहकार्य र साझेदारी आवश्यक छ’, कँडेलले भने ।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदुत यङ सी पार्कले नेपालमा दिगो विकास लक्ष्य प्राप्तिका लागि पूर्वाधार विकास आवश्यक रहेको भन्दै यसको ६० प्रतिशत स्रोत निजी क्षेत्रबाट आउनु पर्ने बताए । ‘पहिलेको तुलनामा नेपालले शिक्षा, स्वास्थ्यलगायत अन्य सामाजिक विकासमा ठूलो फड्को मारेको छ, विद्यमान समस्याहरूको समाधानमा सरोकालवालाहरुबीच सहकार्य आवश्यक देखिन्छ’, उनले भने । कार्यक्रममा उपस्थित सरोकारवालाहरूले आगामी दिनमा दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।





error: Content is protected !!