स्यार्पुतालमा बन्यो पाहुनाघर

रुकुम : रुकुम पश्चिमको बाफिकोट गाउँपालिका-३ मा पाहुनाघर निर्माण गरिएको छ। भदौको दोस्रो साता निर्माणको भवनको सबै काम सकिएको बताइएको छ।

पाहुनाघर निर्माण भएसँगै स्यार्पुतालमा आन्तरिक र बाह्‍य पर्यटक वृद्धि हुने स्थानीय यज्ञ चन्दले बताए। भवन निर्माणको लागि कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र वन डिभिजन वन कार्यालयको ३८ लाख र स्थानीयको जनश्रमदान ४ लाख ६७ हजार ३८ रुपैयाँको गरी ४२ लाख ६७ हजार ३८ रुपैयाँको लगानीमा निर्माण गरिएको निर्माणको जिम्मा लिएको धनमाया स्मृति प्रतिष्‍ठानका महासचिव इन्द्रिरा बुढामगरले बताइन्।

होमस्टे निर्माण भएसँगै गाउँमा बनेका अर्गानिक खानाका परिकारहरू उपलब्ध हुनेछन्। गाउँमा बनेका मकैका रोटी, सिस्नो, स्थानीयस्तरमा उत्पादित विभिन्न मसलाहरू, भैँसीको दूध, दही, मही लगायतका खानाका परिकार पाइने व्‍यवस्था गरिएको छ। स्यार्पुताल कर्णाली प्रदेशकै सुन्दर तालमध्येको एक हो।

बाफिकोट गाउँपालिकाको वडा नम्बर तीन र चारको बीचमा पर्ने स्यार्पुताल विशेष गरी हेर्नलायक भदौ र असोज महिनामा हुन्छ। सदरमुकाम मुसिकोटबाट २० किलोमिटर दूरीमा पार गरेपछि स्यार्पुताल पुगिन्छ। स्यार्पुतालमा परम्परागत काठका डुंगा विस्थापित गरी ताल अवलोकनका लागि आउनेहरूका लागि आधुनिक डुंगाको व्‍यवस्था गरिएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!