एक महिनाको छोरी च्यापेर, आमा तरकारी बेच्दै

इन्द्र बुढाथोकी सल्यान । बन्गाड कुपिण्डे नगरपालिका वडा न ११ आपचौरकी २८ वर्षिया भावना थापा दैनिक तरकारी बेच्न बजार धाउने गर्छिन ।

कम्मरमा एक डोको तरकारी छातीमा एक महिनाको छोरी च्यापेर थापा सधै ३ घण्टाको दुरी पारगरी सल्लीबजारमा पुगी तरकारी बिक्री गर्ने गर्छिन ।

आम्दानीको अर्को स्रोत नभएको र बालबालिका हेर्ने अर्को मान्छे नहुँदा थापाले दिनहुँ छोरीलाई च्यापेर बजार धाउने गरेकी हुन । उनले भनिन ‘के गर्नु घरमा छोराछोरी हेर्ने अर्को मान्छे छैन तरकारी बिक्री नगरी साँझ बिहानको चुली बल्दैन ।’
घरमा आफु एक्लै भएको र श्रीमान छ महिना पहिले मात्रै रोजगारीका लागि विदेश गएको भाइहरु छुटिएका कारण रहर भन्दा बाध्यताले छोरीलाई च्यापेर बजार धाउनु परी रहेको उनले बताइन ।

 

तरकारी खेतीले आफ्नो गुजारा चली रहेको बताउदै उनले बजारको भने साह्रै समस्या भएको बताइन । ढोरपिपलमा निमार्ण गरेको कृषि संकलन केन्द्र पनि दुई तीन महिना पछि बन्द भैहाल्यो उनले भनिन ‘संकलन केन्द्र सञ्चालन भई दिएको भएपनि घर घर धाउनु पर्ने थिएन ।’

छोराछोरीको पढाई खर्च र घर खर्च चलाउन तरकारी खेतीले जसोतसो पुगी रहे पनि बजारीकरणको साह्रै समस्या रहेको थापाको भनाई छ । दैनिक गुजारा चलाउन नै ढोरपिपल, रैकर, बालुवासंग्रही, सल्लीबजार लगायतका बजारमा धाउनु परी रहेको उनले बताइन ।





error: Content is protected !!