जाजरकोटमा पहिरोमा पुरिएर एकै घरका तीनको मृत्यु, वनमन्त्री बस्नेतद्वारा दुःख व्यक्त

जाजरकोट ः जाजरकोटमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमती सहित दुई छोरीको मृत्यु भएको हो ।
आइतबार बिहान पौने २ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएका छन्। पहिरो गएको स्थानमा उद्धाका लागी प्रहरी पुगेको छ र उद्धार कार्य जारी राखेको छ ।
यसैबीच घटनाप्रति वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतले गहिरो दुःख व्यक्त गरेका छन् । दुर्घटनामा परि मृत्यु हुनुभएका परिवारजनप्रति सहानुभुति व्यक्त गर्दै उनले संयमता अपनाउन आग्रह गरेका छन् ।
उद्धार तथा खोजिकार्यमा संलग्न सुरक्षाकर्मी, स्थानीय जनसमुदाय तथा सरकारी अधिकारीहरुलाई धन्यवाद दिदै वन मन्त्री बस्नेतले खोजीकार्यलाई निरन्तरता दिन समेत आग्रह गरेका उनका प्रेस सहयोगी हेमन्त केसीले जानकारी दिएका छन् । यसै गरी भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले समेत दुख व्यक्त गनुभएको छ । उहाँले यस दुखको घडीमा सवैले आ आफ्नो ठाउँमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।










