दैलेखमा पण्डितद्वारा सामुहिक रक्षाबन्धन

अमर सुनार 
दैलेख – हिन्दू भएर पनि जिल्लामा दलित समुदायलाई रक्षाबन्धन धागो बाँध्न इन्कार गरिएको अवस्थामा दुई जना उदार पण्डितहरुले सामूहिक रक्षाबन्धन बन्धन गरिएको छ ।
दलित नागरिक समाजको आग्रहमा दुल्लू नगरपालिका–३ नेपाका ज्ञानमणी नेपाल र दुल्लू नगरपालिका–८ वडलम्जीका कृष्णप्रसाद उपाध्यायले दैलेख सदरमुकाम र दुल्लूमा आज दलितहरु समेतलाई सहभागी गराई सामूहिक रक्षाबन्धन कार्यक्रम गरिएको हो ।
पुरातन सोच भएका पण्डितहरुले दलितहरुलाई विभेद गर्दै आएको भन्ने गुनासो आएको कारण आफूहरुले स्वतःस्फूर्त रुपमा सामूहिक रक्षाबन्धन बाँधिदिएको पण्डित कृष्णप्रसाद उपाध्यायले बताउनुभयो ।
अर्का पण्डित ज्ञानमणी नेपालले २०५५ सालमा यस्तै गरी पहिलो पटक सामूहिक रक्षाबन्धन गराइदिनुभएको थियो । यो वर्षसम्म पनि दैलेखमा पण्डितहरुले नाग पञ्चमीमा नाग टाँस्न, रक्षाबन्धनमा धागो बाँध्न समेत इन्कार गर्दै आएका सुनेपछि यो पटक फेरि यो कार्यक्रम गर्न सघाएको उहाँले टिप्पणी गर्नुभयो ।
ब्राम्हण संघलाई समेत सहभागी गराउन खोज्दा उहाँहरु तत्कालै सहमत नदेखिएको कारण आफूहरु दलित समुदायको आत्मसम्मान बढाउन केही थोरै शुभचिन्तकहरुलाई लिएर सामूहिक रक्षाबन्धन गरिएको नेपालले बताउनुभयो ।
पण्डित ज्ञानमणी नेपाल सरकारको उपसचिव हुनुहुन्छ । ८ वर्षअघि पाँचथरमा जिल्ला शिक्षा अधिकारीको रुपमा काम गर्दा उत्कृष्ठ राष्ट्रसेवकको शिक्षा पदक पाउनुसंगै सन् २०१४ को इण्टीग्रेटिङ्ग आइडल पुरस्कार पाउनुभएको थियो ।
दलित समुदायले अनुभूती
शुभेच्छुक पण्डितहरुको यो उदारताले दलित समुदायलाई हिन्दू प्रति आस्था र सम्मान बढाएको दलित अधिकारकर्मी सविना बिश्वकर्माले अनुभूति सुनाउनुभयो । अधिकारकर्मी जेष्ठ नागरिक मोहन सुनारले जातीय विभेद हटाउन सहयोगीहरु बढेको रुपमा आफूले लिएको सुनाउनुभयो ।
अन्यत्र त्यति धेरै विभेद नहुने तर दैलेखमा मात्र दलितहरुलाई रक्षाबन्धन बाँध्न किन इन्कार गरिएको भनी सोध्दा ब्राम्हण संघका जिल्ला अध्यक्ष नरेन्द्रप्रसाद उपाध्यायले बिस्तारै हुन्छ, अहिले नै दलितहरु कहाँ गएर कर्मकाण्डको काम गर्न सकिंदैन भन्ने प्रतिक्रिया दिनुभयो । विभेद भएन र रु भन्ने प्रश्नमा उहाँले जवाफ नदिएर फोन काट्नुभयो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का मदन बिकले त्यहाँ पनि पण्डितहरुले दलितहरुलाई रक्षाबन्धन बाँध्न र अरु कर्मकाण्डको काममा बोलाउँदा पनि इन्कार गर्ने गरेको जानकारी दिनुभयो । भगवतीमाई गाउँपालिका–३ मेहलतोलीकी मनिषा सोनीले त्यहाँका पण्डितहरु दलितहरुबाट तर्किएर क्षेत्री बाहुनलाई मात्र जनै लगाइदिएको र रक्षाबन्धन बाँध्ने गरेको बताउनुभयो ।
अघिल्लो वर्ष दलितहरुलाई रक्षाबन्धन बाँध्नु पर्ने हो भने हामी कसैलाई रक्षाबन्धन बाँध्दैनौं भन्दै ब्राम्हण संघकै आह्वानमा रक्षाबन्धन बहिस्कार गरिएको परिप्रेक्षमा यो वर्ष सौहार्दता ल्याउन दलित नागरिक समाजले सरोकारवालासंग गरिएको छलफलपछि राजनीतिक दलहरुको सहजीकरणमा यो वर्ष दलितहरुलाई समेत सहभागी गराउने गरी सामूहिक रक्षाबन्धन कार्यक्रम गरिएको हो ।
विभेदमुक्त रक्षाबन्धन छलफल कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य दानसिंह परियारले दलित समुदायको आत्मसम्मानसंग जोडिएको रक्षाबन्धन सहित धार्मिक सहभागिता, बजेट श्रोतमा पहुँच र दलित लगायतका पिडिएको जाति, वर्ग, क्षेत्र लगायतको जीवन स्तर उठाउन कार्यक्रम ल्याउन स्थानीय तहलाई आग्रह गर्नुभयो ।
दैलेखमा पण्डितहरु किन रक्षाबन्धन बाँध्दैनन्
एघार वर्ष २०६५ साउन ३२ गते जनकलाल सुनार र बेस्तडा बजारका चन्द्रबहादुर बिकलाई दलित भएकै कारण रक्षा वन्धन धागो बाँध्दैन भनी तर्केको विषयमा हालको भगवतीमाई गाउँपालिका–२ साविकको रुम गाविस–७ का २२ वर्षीय दिपक उपाध्याय विरुद्ध जातीय विभेदको मुद्दा अदालतमा पुग्यो ।
जिल्ला अदालतले २०६५ चैत ३० गते दिपकलाई तीन महिना कैद र एक हजार जरिवाना ग¥यो । त्यतिबेलाको पुरावेदन अदालतले पनि सोही सजाय सदर ग¥यो अनि मुद्दा सर्वोच्चसम्म पुगेको थियो । सर्वोच्चले तीन महिना कैद मिनाह ग¥यो र एक हजार जरिवाना कायम ग¥यो ।
यो फैसलाको प्रतिसोधमा दैलेखका पण्डितहरुले दैलेख जिल्ला अदालतको २०६७ फागुन १२ गते नयाँ भवन उद्घाटन गर्दा होम पूजा गर्न इन्कार गरे, नेपाली सेनाको पूजारीबाट होम गर्नु परेको थियो । दैलेखमा पण्डितहरुले अदालतले आफूहरुलाई सजाय गरेको भन्ने बाहनामा अहिले पनि दलितहरुप्रति पूर्वाग्रह राख्ने गरेका छन् ।










