नेपालमा ‘रअ’को सक्रियता

काठमाडौं । दक्षिणी छिमेकी मुलुक भारतमा नयाँ सरकार गठन भएपछि नेपालमा भारतीय गुप्तचर संस्था ‘रअ’ को सक्रियता बढेको छ । भारतीय जनता पार्टीले दोस्रोपटक सरकार बनाएपछि दुई देशबीच उपल्लोस्तरको राजनीतिक भेटवार्ता नहुँदै ‘रअ’को सक्रियता बढेको हो ।

‘रअ’का प्रमुख सामन्त गोयल तीनदिने नेपाल भ्रमणमा आएर सोमबार स्वदेश फर्किएका छन् । उनी सरकारीस्तरबाट कुनै औपचारिक भेटवार्ता गर्न नमानेपछि उनी सोमबार अपराह्न स्वदेश फर्किएका हुन् । ‘रअ’ प्रमुख भएको एक महिनामै नेपाल आएका उनले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका केही शीर्ष नेतासँग भने भेटवार्ता गरेको स्रोतको दाबी छ ।

दूतावासले परराष्ट्र मन्त्रालयमार्फत भेटवार्ताका लागि समय मिलाई दिन आग्रह गरेपनि प्रधानमन्त्री कार्यालयबाट कुनै रिसेप्सन नआएपछि फर्किए गोयल

गोयलले सोमबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनकै निवासमा भेटवार्ता गरेको बताइएको छ । प्रचण्डको सचिवालयले यसको पुष्टि नगरे पनि नेपालस्थित भारतीय दूतावासले भने यसको अनौपचारिक रूपमा पुष्टि गरेको छ । साढे ८ बजेबाट भएको भेटमा के विषयमा कुराकानी भएको हो भनेर केही खुलाइएको छैन । यसअघि नेपाल आएका श्यामशरणसँग पनि प्रचण्डले गोप्य रूपमा भेटवार्ता गरेका थिए ।

‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्न चाहेका थिए । दूतावासले परराष्ट्र मन्त्रालयमार्फत भेटवार्ताका लागि समय मिलाई दिन आग्रह गरेपनि प्रधानमन्त्री कार्यालयबाट कुनै रेस्पोन्स नआएको बताइएको छ । नेपालमा वामपन्थीको झण्डै दुईतिहाइको स्थायी सरकार बनेपछि भारतले नेपाललाई बेग्लै नजरमा हेर्न थालेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

‘भारतीय पक्षबाट भेट्ने प्रस्ताव आएको थियो’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यूले रअ प्रमुखलाई भेट्न कुनै आपत्ति नभएता पनि भारतमा नयाँ सरकार बनेपछि कोही पनि राजनीतिक व्यक्तित्व नेपाल नआएको र राजनीतिक भेटघाट नगरी गुप्तचर संस्थाका प्रमुखलाई भेट्दा गलत सन्देश जाने भएकाले भेट नदिनु भएको हो ।’ गोयलसहित पाँचजनाको टोली शनिबार बेलुका काठमाडौं आएको थियो ।

रिसेप्सन बहिष्कार १
प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिले भारतीय दूतावासले आयोजना गरेको रिसेप्सन बहिष्कार गरेका छन् । सरकारको कामकारबाहीमा निर्देशन दिन सक्ने हैसियत राख्ने संसदीय समितिका सभापतिलाई दूतावासले ‘रअ’ का प्रमुख नेपाल आएकै वेला छोपेर रिसेप्सन राखेको थियो ।

११ वटै समितिका सभापतिलाई १० दिन अगाडि नै फोन र म्यासेज गरेर रिसेप्सनमा बोलाइएको थियो । ‘जुन २२ मा हाई टी ९जलपान०का लागि आउनुहोला भनेर मेसेज आएको थियो’, एक सभापतिले भने, ‘राजदूतको स्वकीय सचिवले पनि निम्ता सम्झाउन जुन १८ मा फेरि फोन नै गरेर कन्फर्म गरेका थिए ।’ तर, सोमबार साढे ४ बजेका लागि बोलाइएको सो रिसेप्सनमा नगएको सौर्यसँग सम्पर्कमा आएका सभापतिहरूले भने । भारतीय राजदूत मञ्जीवसिंह पुरीले सोमबार दिउँसो साढे ४ बजे प्रतिनिधि सभाका संसदीय समितिका सभापतिहरूलाई रिसेप्सनका बोलाएका थिए ।

‘भारतीय राजदूतका राजनीतिक मामिला विज्ञले फोन र म्यासेज गर्नुभएको थियो । तर, कुनै पनि एजेन्डा नखुलेकाले भेट्न गइनँ,’ संसद्को महिला, बालबालिका तथा सामाज कल्याण समितिका सभापति निरु पालले भनिन् । विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले पनि दूतावासबाट आफूलाई पनि निम्तो आएको बताइन् । ‘भारतीय दूतावासबाट निम्तो आएको थियो । के कार्यक्रम भन्ने खुलेको थिएन,’ उनले भनिन्, ‘मलाई महत्वपूर्ण लागेन । त्यसैले सहभागी भइनँ ।’





error: Content is protected !!