यसकारण हुन्छ मिर्गौलामा पत्थरी

गलत खानपान, प्रदूषित वातावरण र अस्वस्थ जीवनशैलीका कारण पछिल्लो समयमा मिर्गौला रोगी बढिरहेका छन् । त्यस्तै, उच्च रक्तचाप र मधुमेहको समस्यालाई बेवास्ता गर्ने मानिसमा पनि मिर्गौला बिग्रिने सम्भावना बढेर जान्छ । पत्थरी हुनु अहिले मिर्गौलाको मुख्य समस्याका रूपमा रहेको छ । मिर्गौलामा साना बालुवाजस्ता पदार्थ, क्याल्सियमका टुक्रा, अक्सालेट, युरेट र फस्फोरस एकै ठाउँमा जमेर पत्थरी बन्छ । यी पदार्थका कण पिसाबमा जम्छन्, बिस्तारै आकार बढ्दै गएपछि पत्थरी बन्छ । मिर्गौलाका पत्थरी धेरै किसिमका हुन्छन् ।
कारण
शरीरमा पानीको कमी हुँदा मिर्गौलामा पत्थरी हुने गर्छ । पानी कम हुँदा पिसाब राम्ररी हुन पाउँदैन, फलस्वरूप मिर्गौलामा पत्थरी जम्दै जान्छ ।
गर्मीमा बस्ने, पानी कम पिउने मानिसमा मिर्गौलामा पत्थरी बढी देखिने गर्छ । त्यस्तै, धेरै तातो वातावरणमा लामो समयसम्म काम गर्ने मानिसमा समेत पत्थरीको समस्या हुन्छ । जस्तै, होटेलको भान्सामा लामो समय बिताउने तथा तातो वस्तुसँगको सम्पर्कमा रहने अधिकांशमा मिर्गौलामा पत्थरी हुन सक्छ ।
शरीरमा क्याल्सियमको मात्रा बढी भएमा समेत पत्थरीको सम्भावना रहन्छ ।
लक्षण
मिर्गौलाको सानो आकारमा पत्थरी भएमा खासै लक्षण देखिँदैनन् । तर, पत्थरी बढ्दै गएमा पेट दुख्ने, संक्रमण हुने, पिसाब पोल्ने र पिसाबमाा रगत देखा पर्नेजस्ता लक्षण देखिन्छन् ।
बिस्तारै शरीर कम्पन हुने, भोक नलाग्ने, छटपटी हुनुका साथै मिर्गौलासमेत फेल हुन सक्छ ।
सुरुवाती लक्षण बेवास्ता गर्ने कारण अधिकांश मानिस मिर्गौला पूरै फेल भएपछि मात्र चिकित्सककहाँ पुग्ने गरेको पाइन्छ । तसर्थ, यस्ता लक्षण देखापरेमा समयमै चेकजाँच गराउनुपर्छ । एक्सरे, सिटिस्क्यान, अल्ट्रासाउन्ड गरेर पत्थरीको अवस्था पत्ता लगाउन सकिन्छ ।
पत्थरीबाट बच्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ । क्याल्सियमजन्य खाद्यपदार्थ अत्यधिक सेवन गर्नुहुँदैन
रोकथाम र उपचार
खानपान र जीवनशैलीमा ध्यान दिन सके पत्थरी हुनबाट बच्न सकिन्छ । साथै, प्रशस्त मात्रामा पानी पिउनु जरुरी हुन्छ । माछा, मासु, चिया, कफी र सागपात आदि ठिक्क मात्रामा खानुपर्छ । क्याल्सियमजन्य खाद्यपदार्थ अत्यधिक पनि सेवन गर्नुहुँदैन ।
सामान्य अवस्थामा रहेको पत्थरी औषधिको प्रयोगबाट निको हुन्छ । शल्यक्रियाबाट पनि पत्थरीको उपचार गर्न सकिन्छ । बिरामीलाई खासै असर नपर्ने गरी उपचार हुने विभिन्न उपचार पद्धति आजभोलि भित्रिएका छन् ।
ल्याप्रोस्कोपी, युरेटेरोेस्कोपी, लेजरजस्ता उपचार पद्धति अपनाएर मिर्गौलाको पत्थरीको उपचार गर्न सकिन्छ ।










