किसानलाई प्रोत्साहनका लागि सहयोग

जाजरकोट, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जिल्लाका किसानलाई उपलब्धिमा आधारित प्रोत्साहन अनुदान रकम वितरण गरेको छ ।
परियोजनाले कुशे गाउँपालिका, भेरी नगरपालिका–२ र नलगाड नगरपालिका–३ का किसानलाई सुन्तला उत्पादनका लागि प्रोत्साहन अनुदान रकम वितरण गरेको हो । परियोजनाले कुशेका ३२०, भेरीका ९६ र नलगाडका १२६ सुन्तला उत्पादक किसानलाई अनुदानअन्तर्गत रु सात लाख वितरण गरिएको जनाएको छ । ५० भन्दा धेरै सुन्तलाका बिरुवा लगाएका किसानलाई रु पाँच सयदेखि नौ हजारसम्म प्रोत्साहन रकम वितरण गरिएको विभागका प्रमुख वरिष्ठ कृषि अधिकृृत टङ्कप्रसाद रिजालले बताउनुभयो । उत्पादनका आधारमा पहिलोपल्ट प्रोत्साहन रकम वितरण गरिएको उहाँको भनाइ छ । प्रोत्साहन अनुदान कार्यक्रमबाट विभाग सञ्चालक समितिलाई समेत रु तीन लाख अनुदान दिइएको छ । त्यस्तै परियोजनाले सुन्तलाखेती गरिरहेका किसानलाई रु २० लाखमा कृषि औजार खरीद गरी वितरण गरिएको जनाएको छ ।
कृषकलाई पावर ट्रेलर, खाल्डा खन्ने मेसिन, पावर स्प्रेयर, सिकेचर, फुट स्प्रेयर, भ¥याङ, आरी, कैंची, जुसर मेसिन, तौल मेसिन, स्पिङ्कलरलगायत कृषि औजार वितरण गरिएको हो । “हामीले वितरण गरेका उपकरण बिरुवा लगाउँदादेखि फल निकाल्दासम्म प्रयोगमा आउनेछन्”, रिजालले भन्नुभयो, “सुन्तलाको बगैंचा व्यवस्थापन, सिँचाइ, गोडमेल, खनजोत, खाल्डा खन्न, सुन्तला टिप्न र भण्डारण गर्न चाहिने सबै सामग्री किसानलाई उपलव्ध गराइएको हो ।” कस्टम हाइरिङ सेन्टर र पोस्ट हारभेस्ट सेन्टर कार्यक्रमको रकमबाट किसानलाई कृषि औजार वितरण गरिएको परियोजनाले जनाएको छ ।
परियोजनाका अनुसार कृषि औजार ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । जाजरकोटमा यो वर्षदेखि माहुरी जोडसमेत लागू भएको छ ।










