‘वातावरण र विकासलाई सन्तुलित गरेर विधेयक ल्याइने’


काठमाण्डौँ ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासलाई सन्तुलित गरेर अगाडि लैजानका लागि नयाँ वातावरण संरक्षण विधेयक ल्याउन लागिएको बताउनुभएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आज यहाँ आयोजना गरेको ‘वातावरण संरक्षण विधेयक–२०७५ माथि संशोधनकर्ता सदस्यसँग छलफल’ कार्यक्रममा उहाँले वातावरण र विकास एक अर्कासँग सम्बन्धित भएकाले दुवैलाई सन्तुलित गरेर मुलुकको विकास निर्माणमा सहयोग मिल्ने गरी विधेयक ल्याउन लागिएको जानकारी दिनुभएको हो ।
“मुलुक विकासको गतिमा अगाडि बढेको छ । विकासका लागि प्रदुषित वातावरणले समस्या पारेको छ”, मन्त्री बस्नेतले भन्नुभयो, “विकासका लागि वातावरणले समस्या नपारोस् भन्नका लागि नयाँ ऐनमा वातावरण र विकासलाई सन्तुलन गर्न खोजिएको छ ।”
मुलुकको विकास र जीवनको आवश्यकतालाई वातावरणसँग सम्झौता गर्दै अघि बढ्नुपर्ने भएकाले यसमा चुनौती रहेकोसमेत रहेको उल्लेख गर्दै उहाँले विमानस्थल र सडक बनाउन रुख काट्नुपर्ने बाध्यता रहे पनि वातावरण संरक्षण गर्दै विकास पनि गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
मन्त्री बस्नेतले भौतिक पूर्वाधार विकासमा वातावरणका मुद्दा बढी भएकाले विधेयकमा अब त्यस्ता मुद्दा नपरुन भन्नेतर्फ जोड दिइएको बताउनुभयो । मन्त्रालयका सचिव विश्वनाथ वलीले विकासलाई कसरी एकीकृत गरेर लैजाने भन्नेबारे विधेयकमा समेटिएको बताउनुभयो ।
समिति सदस्य शेरबहादुर तामाङले विधेयक अमूर्त रहेकाले संशोधनका लागि दर्ता गरिएका प्रावधानलाई समेट्निुपर्ने बताउनुभयो । समिति सदस्य पार्वत गुरुङ, मैना भण्डारी, प्रेम सुवाललगायतले विकास निर्माणसँग वातावरणले प्रत्यक्ष सरोकार राख्ने भएकाले विकासमा बाधा नपुग्ने गरी वातावरण विधेयक ल्याइनुपर्नेमा जोड दिनुभयो बताउनुभयो ।










