रुप फेर्दै जाजरकोट दरवार

हेमन्त केसी 
काठमाण्डौँ ः ः जाजरकोट राज्यको ईतिहास बोकेको जाजरकोट दरबार पुर्ण लयमा आएको आएको छ । दैनिक जिर्ण वन्दै गएको यो दरवारमा पर्यटन मन्त्रालय र भेरी नगरपालिकाको आर्थिक सहयोगमा पुर्ण निर्माणको काम भएपछि लयमा आएको हो ।
राजा हरि शाहले विस १८२५ ताका निर्माण गरेको कला र ऐतिहासिक महत्व दुवै दृष्टिकोणले निकै महत्वपूर्ण मानिने जाजरकोट दरवार (हाल जिल्ला प्रशासन कार्यालय रहेको , जाजरकोटी राजा प्रकाश विक्रम शाहले २०४२ सालमा तत्कालीन जिल्ला पन्चायतलाइ ६० हजार रुपैयामा विक्रि गरेका थिए ) दरवारको पुरानो छानो चुहिने , रछाउने, दरवार क्षेत्रको वरिपरी कम्पाउण्ड वाल लगाउने, महिला, पुरूष शौचालय एवं स्नान घर निर्माण लगायतका कामहरू धमाधम भएपछि अहिले दरवार पुर्ण लएमा आउँन थालेको छ । वि .स १८२५ मा जाजरकोटका राजा हरी शाहले निर्माण गरेको यो दरवार दैनिक जिर्ण वन्दै गएको थियो । जाजरकोट दरवार कला र ऐतिहासिक महत्व दुवै दृष्टिकोणले निकै आकर्षक मानिन्छ ।
हरि शाहले भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइन अनुसार रुकुमको चौरजहारीवाट स्थानीय जनतालाइ इटा बोकाएर दरवार निर्माण गर्न लगाएका थिए । नेपाल एकिकरण अभियानका वेला पश्चिममा निकै शाक्तिशाली राज्यको रुपमा रहेका जाजरकोट राज्यका राजाको दरवार पुरातत्व विभागमा दर्ता भएको भएपनि यसको रेखदेख र संरक्षणमा कसैको चासो नगएको स्थानीय सरोकारवालाहरुको गुनासो छ । दरवारको अझै धेरै काम गर्न बाँकी भएपनि बजेट नहुँदा समस्य भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोट आएदेखि दरवारको पुर्ण निर्माण र मर्मतका लागि ठुलो प्रयास गरेका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अझै वजेट अभावमा काम सोचेको जती गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार माग गरिएको जती बजेट पाएका यसको संरचाना र सुन्दरतालाई यथावत राखेर मजवुत बनाईने थियो ।
दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृश्य अनि उत्तरतिर कुसे पाटनको मनोरम दृश्य मात्र होइन पुर्वतीर सिस्ने हिमाल, होलु जिउला अनि वरीपरी हरिया पहाडहरुको बीचमा रहेको खलंगाको पिपलडाडा स्थित टाकुरोमा रहेको जाजरकोट दरवार प्राकृतिक सुन्दरताको बीचमा अहिले रुप फेदै गएको छ । प्रत्यक वर्ष दशैंको महानवमीका दिन दरवार र जाजरकोट राज्यको ऐतिहासिकता एवम साँस्कृतिक महत्व झल्काउने रांगो वली हाल्ने मेला पनि पछिल्लो चरणमा ओझेल पर्दै गएको छ ।
पृथ्वीनारायण शाहले शक्तिको प्रतीक मान्दै जाजरकोटका राजालाइ दिएको खड्कको पुजा गर्न ९ रांगा ९ वोकाको वलि दिने चलन पनि हराउदै गएको छ । सुरुमा ७ तले यो दरवार विसं १९९० सालको भुकम्पपछि चार तलामा झरेको थियो । वरिपरि दरवारको भव्य महल बीचमा रानीहरुले नुहाउने तलाउको अहिले नाम निसान नै नरहने गरी भत्किए पछि सो पनि निर्माण कार्य जारी रहेको छ ।
दरवार प्रवशेद्धारको अगाडी रहेका दुइवटा सिंहले अगाडीका दुइ खुटटा उचालेर आक्रोस व्यक्त गरेको तस्वीर झल्किने कलात्मक गेट पनि विसं २०३५ मा भत्कि सकेको थियो । सरकारले २०१७ सालमा राजा रजौटाहरु उन्मुलन गरेपछि राजाले वस्न छोडेको यो दरवारका सवै महत्वपुर्ण , ऐतिहासिक वस्तुहरु अहिले हराइ सकेकोले अझै यसलाई जाजरकोटको इतिहास र सस्कृतिक हराउन नदिन थप पहल गर्नुपर्ने नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाई छ ।
विगतमा दरवारको सातौं तलामा रहेको नारायण थानको मन्दिरका तीन वटा अति प्राचीन मुर्तिहरु मध्य एउटा हनुमानको मुर्ति द्धन्दकालमा हराएको थियो भने अन्य दुइवटा मात्र रानागाउँको कालीका मन्दिर र पिपलडाडाको गणेश मन्दिरमा सुरक्षित रहेको उहाँले बताउनुभयो ।
शाहका अनुसार हुम्ला र चिनको बीचमा रहेको ताक्लाकोटमा विसं १९१४मा जाजरकोटी सेनाका कमान्डर जुद्धदल शाह नेतृत्वको सेनाले आक्रमण गरि जितेका छालाको तोप र केहि अन्य हतियारहरु राष्ट्रिय संग्राहलय छाउनीमा रहेको छ ।
अन्य ६ सय थान वन्दुकहरु राजाका सन्तानहरुले नै लिएर वेपत्ता पारेको उहाँको भनाई छ । विसं १८२५ साल माघ ५ गते भारतको मणिकर्णिका घाटमा जाजरकोटी राजा हरि शाहले गोरखाका राजा पृथ्वीनारायण शाहसंग मितेरी साइनो लगाउदै गरेको धर्मसन्धीका वेला पाएका केहि उपहारहरु र दस्तावेजहरु पनि अहिले भेटाउन गाह्रो भएको शाहको भनाई छ ।
पुथ्वीनारायण शाहले शक्तिको प्रतीकको रुपमा दिएको खडग अर्थात तरवार मात्र अहिले जगतिपुर स्थित मन्दिरमा खर्के देउताको रुपमा सुरक्षित रहेको स्थानीय पुजारी सत्यप्रसाद शर्माले बताउनुभयो । जाजरकोट दरवार पुननिर्माणका लागि पुरातत्व विभागको सक्रियतामा सहरी विकास तथा भवन डिभीजन कार्यालय सुर्खेतले २७ करोडको लागत स्टमेट तयार पारेको जिल्ला प्रशासन कार्यालयको भनाई छ । भवन डिभीजन कार्यालयले दरवारको ऐतिहासिक पक्ष तथा कलात्मकता नविग्रिने गरि वनाएको डिजाइन तथा आर्थिक योजना सहितको पुननिर्माण योजना गृह मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा गएर रोकिएको छ । नयाँ पर्यटकीय गनतव्यमा परेका कारण जाजरकोट दरबारको मर्मत गरिएको हो ।
नेपाल वाइसी र चौवीसी राज्यमा विभाजित भएका वेला वाइसी राज्य अन्तरगत निकै शक्तिशाली मानिएको जाजरकोट राज्यका संस्थापक राजा जगतिसिंह मेदिनीवर्मा हुन् । उहाँले विसं १४५५मा जाजरकोट राज्य स्थापना गरेका थिए । उनी पछिका राजा विजय सिंहको घोडाले मन पराएको जाजरकोट खलंगाको पिपलडाडामा नै उहाँका नाति पर्ने हरि शाहले उक्त राजदरवार निर्माण गनुभएको थियो ।










