सवै खालका हिंसा विरुद्ध जाजरकोटमा आठ बुदे प्रतिबद्धता

जाजरकोट ः मानवअधिकार रक्षाका लागी जाजरकोटमा आठ बुदे प्रतिबद्धता गरिएको छ । नेपाल मानव अधिकार संगठनको आयोजनामा सदरमुकाम खलंगामा भएको एक कार्यक्रममा सरोकारवालाले मानवअधिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
प्रतिवद्धता पत्रमा भनिएको छ, “ हामी समग्र मानव अधिकार रक्षाका लागि प्रतिबद्धता गदै खास गरी जेष्ठ नागरिक, महिला, दलित, जनजाती, किशोरी, अपाङ्ग, द्धन्द प्रभावित, संकटाभिमुख, विपद र जोखिमा रहेका समुदाय र बर्गको अधिकार रक्षाका संवेदनशील रहने, वाल विवाह, बहु विवाह, वाल श्रम, शोषण, श्रम शोषण, लैंगिकतामा आधारित हिंसा, दासता, मानव वेचविखन, जातीय विभेद जस्ता विकृतिका
विरुद्ध सदैव सचेतकको भूमिकामा समाहित हुन, हामी जाती, भाषा, धर्म, सम्पत्ति, भूगोल, वर्ण, लिंगका आधारमा हुने विभेद र विभेदजन्य व्यवहारहरु हामीलाई मान्य हुने छैन । हाम्रा सामाजिक अन्तर सम्वन्ध र व्यवहारहरुमा प्रत्यक व्यक्तिको मर्यादा, स्वाभिमान र गरिमाको सम्मान गर्न शंकल्पित छौं ,” भनिएको छ ।
त्यस्तै, प्रतिवद्धतापत्रमा अगाडी भनिएको छ, “हामी सार्वजनिक सेवा प्रवाह र स्थानीय विकासका प्रक्रियामा सेवाग्राही वा उपभोक्ता प्रति उत्तरदायी रहन संवेदनशील रहने, मानव अधिकार मानव जीवनको एक आदर्श भएकाले कानून वमोजिम मानव अधिकार उपभोग गर्न र कानून वमोजिमको कर्तव्य निर्वाह समेत उत्तिकै सजग र कर्तव्यनिष्ठ छौं ,” । हामी मानव भएका नाताले मर्यादा र सम्मानका साथ समुन्नत जीवनको प्राप्तिका लागि मानव अधिकार अन्तरनिहीत छन् र अर्को व्यक्ति पनि मानव भएका नाताले मर्यादा र सम्मानका साथ समुन्नत जीवनको प्राप्तिका लागि मानव अधिकार अन्तरनिहीत छन् भन्ने विश्वास गर्दछौं ।
उक्त प्रतिवद्धता पत्रमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, भेरीनगरपालिकाकी उपप्रमुख भावना भण्डारी, नेपाल वार एशोशियसनका अध्यक्ष भीमबहादुर सिह, इन्सेक प्रतिनिधी दिनेश श्रेष्ठ, एमनेष्टी इन्टरनेशनलका राजेन्द्र कार्की, नेपाल मानब अधिकार संगठनका केदारबहादुर शाह, गैरसरकारी संस्था महासंघका वीरबहादुर बस्नेत, नागरिक अगुवा राजेन्द्र विक्रम शाह, भेरी नगरपालिकाका वडाध्यक्षहरु, महिला वडासदस्यहरु लगायतले हस्ताक्षर गरेका हुन् । भेरीनगरपालिकाको सहयोगमा नेपाल मानव अधिकार संगठनले सदरमुकाम खलंगामा संचालन गरेको मानवअधिकार प्रबद्र्धन अनुशिक्षण कार्यशालाको समापनको अवसरमा उक्त प्रतिवद्धता गरिएको हो । कार्यक्रममा ४० भन्दा बढी सरोकारवाला र सहभागीहरुको सहभागिता रहेको थियो ।







