जाजरकोटको शिवालयमा सिभिल बैंकको शाखा स्थापना


जाजरकोट , सिभिल बैंक लिमिटेडले जाजरकोटको शिवालय गाउँपालिकामा शाखा स्थापना गरेको छ । शाखाको कर्णाली प्रदेशसभा सदस्य करबीर शाहीले औपचारिक उद्घाटन गरे ।
उद्घाटन समारोहमा सिभिल बैंकका प्रमुख माईक्रो बैकिङ युवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावल, शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाही लगायतको उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशसभा सदस्य शाहीले अहिले पनि नेपालको कूल ४० प्रतिशत जनताले मात्र बैंकिङ कारोबार गर्ने र त्यसको ४० प्रतिशतभित्रको ४२ प्रतिशतले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेकोले बैंकको उपस्थितिबिना संघीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गरे ।
ग्रामीण भेगमा बैंकको शाखा विस्तार हुँदा वित्तिय साक्षरताको अभिवृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक समृद्धि आउने शाहीले बताए ।
स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा स्थापना गरेकोमा गाँउपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीले खुशी व्यक्त गरे ।
सिभिल बैंकका प्रमुख माईक्रो बैंकिङ युवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । नेपाल राष्ट्र बैंकले स्थानियस्तरमा वित्तीय पहुँच पुर्याउने नीतिलाई आत्मसात गर्दै सिभिल बैंक लिमिटेडले जाजरकोटको शिवालय गाउँपालिकामा शाखा संचालनमा ल्याई जिल्लावासीलाई सहयोग गर्न पाएकोमा उनले खुसी व्यक्त गरे ।
सिभिल बैंकले आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिने उनले बताए ।
साथै, प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने गुरागाईंले बताए ।
सिभिल बैंकले हालसम्म करीब तीन लाख ग्राहकहरु रहेका छन् । बैंकले करीब रु।४४ अर्व निक्षेप परिचालन गरी करीब रु।४४ अर्व कर्जा लगानी गरेको छ । शिवालय शाखासहित बैंकको कुल शाखा संख्या ७४ पुगेकोे छ ।







