डोल्पाका सामुदायिक विद्यालय , उत्तीर्ण दर बढाउन धमाधम तयारी कक्षा

डोल्पा । माध्यमिक शिक्षा परीक्षामा विद्यार्थी उत्तीर्ण दर बढाउन डोल्पाका सामुदायिक विद्यालयले तयारी कक्षामार्फत पढाइ तीव्र पारेका छन् । विद्यार्थी नियमित आउन नसकेका तथा विविध समस्याले पाठ्यक्रम पूरा नभएका विद्यालयले अहिले तयारी कक्षामार्फत धमाधम परीक्षाको तयारी थालेका हुन् ।

विषयगत शिक्षकले नमूना प्रश्नपत्र संकलन गरेर तयारी कक्षा चलाएको त्रिपुराकोट माध्यमिक विद्यालय, मद्युका प्रधानाध्यापक कृष्णबहादुर बोहोराले बताए । उनले भने, ‘व्यक्तिगत कामले होस् वा अन्य कारण पढ्न नपाएका विद्यार्थीलाई परीक्षामा सजिलो बनाउन यस्तो कक्षा चलाएका हौं ।’

डोल्पामा यस वर्ष बाक्लो हिमपातले पढाइमा असर परेकाले यहाँका विद्यालयले तयारी कक्षामा जोड दिएका हुन् । तयारी कक्षा आगामी सातासम्म चल्ने बताइएको छ । जिल्लामा फागुनदेखि शैक्षिक सत्र शुरू भई पुस १५ गते सकिने गर्छ ।

मङ्सिर अन्तिममा वार्षिक परीक्षा सकेर पुसमा शैक्षिक सत्र सकिएको भए पनि माध्यमिक शिक्षा परीक्षा भने नेपालभर एकै समयमा हुने गर्दछ । सरस्वती माध्यमिक विद्यालय दुनै, आदर्श माध्यमिक विद्यालय जुफाल, लक्ष्मी माध्यमिक विद्यालय थरगाउँ, जनप्रभा माध्यमिक विद्यालय लिकु, त्रिपुरा माध्यमिक विद्यालय काइगाउँ, त्रिपुराकोट माध्यमिक विद्यालय मद्यु, कालिका माध्यमिक विद्यालय कालिका, अन्नपूर्ण माध्यमिक विद्यालय सर्मी, मुकुटेश्वर माध्यमिक विद्यालय पुल्चिङ लगायत सबै माध्यमिक विद्यालयमा अहिले तयारी कक्षा सञ्चालनमा छन् ।

उच्च प्रतिशतमा विद्यार्थी उत्तीर्ण गराउन जिल्लाका सबै माध्यमिक विद्यालयले तयारी कक्षा चलाउँदै आएका छन् । यसैको प्रभावस्वरूप त्रिपुरासुन्दरी नगरपालिका–२ मद्युस्थित त्रिपुराकोट माध्यमिक विद्यालयले शैक्षिकक्षेत्रमा राम्रो उपलब्धि हासिल गर्दै आएको छ । त्रिपुराकोट काटिया चौरका विद्यार्थी अन्यत्र भन्दा मद्युमै आएर पढ्ने गरेको उक्त विद्यालयका गणित शिक्षक शोभाकान्त पौडेलले बताए ।

३ वर्ष अघिसम्म डोल्पाका सबै विद्यालयले तयारी कक्षा चलाउने गरेका थिएनन् । गत वर्षदेखि यहाँका विद्यालयमा ट्युशन कक्षा सञ्चालन हुन थालेको हो । हिमपातका कारण बीचमा पढाइ कम भएकाले पनि तयारी कक्षा चलाउनुपरेको सम्बन्धित विद्यालयले बताएका छन् । विद्यालय नियमित सञ्चालन, विद्यार्थी–शिक्षकको नियमित उपस्थिति र समुदाय–विद्यालयबीच आपसी सम्बन्धको राम्रो प्रभाव शैक्षिक गुणस्तरमा परेको त्रिपुराकोट मावि, मद्युका प्रध्यानाध्यापक बोहोराको भनाइ छ । उक्त विद्यालयको शैक्षिक कार्यक्रमले विद्यार्थीको सिकाइ उपलब्धि बढेको अभिभावक खिमबहादुर बुढाले बताए । जिल्लाका अन्य विद्यालयमा पाठ्यक्रम पूरा नभए पनि मद्युमा सबै पाठ्यक्रम पूरा भएको उनको भनाइ छ ।




सम्बन्धित समाचार


error: Content is protected !!