हिमपातका कारण बागलुङ अन्धकारमा

बागलुङ, हिमपातका कारण बिद्युत प्रासरण लाइनका पोलहरू भाँचिएपछि बागलुङको पश्चिमका दर्जनौं गाउँमा हजार बढी परिवार अन्धकारमा परेका छन्। हिमपातका कारण विद्युत पोल भाँचिएपछि ढोरपाटन नगरपालिका ६ र वडा ९ का करिव ६५० घरधुरी चार दिनदेखि अन्धकारमा छन्। शुक्रबार राती वर्षासँगै भएको भारी हिमपातका कारण ढोरपाटन नगरपालिका ६ का स्थानीय बासिन्दाले उपभोग गर्दै आएको खानीखोला लघु जलविद्युत आयोजना र गादिखोला लघु जलविद्युत आयोजनाको विद्युत पोल भाँचिएका छन्। पोल सँगै चुँडिएका तारहरू समयमा मर्मत गर्न नसक्दा बस्तीहरू अन्धकार भएका हुन्। बिद्युत आपूर्ति बन्द भएका कारण ढोरपाटन नगरपालिका ६ का २५० परिवार अन्धकारमा छन्। त्यसैगरी वडा ९ का स्थानीय बासिन्दाले उपभोग गर्दै आएको भुजीखोला चौथो लघु जलविद्युत आयोजनाको पनि विद्युत पोल भाँचिएका छन्।

उक्त बिद्युत ३०० घरधुरीले प्रयोग गर्दै आएका थिए। खानीखोला लघु जलविद्युत आयोजनाका म्यानेजर ज्ञानबहादुर सिर्पालीका अनुसार हिमपातका कारण खानीखोला लघु जलविद्युत आयोजनाको १७ ओटा फलामे पोल भाँचिएर ढलेका छन्। विभिन्न स्थानमा विद्युत तार चुँडिएको छ। वडा ६ को चामिद्धार, खानी, खोरीया, ढेङ्ग्रे, काम्लोपाते, लाकुम र धुपीचौरका १५५ घरधुरीले उपभोग गर्दै आएको उक्त जल विद्युत आयोजनाको विद्युत आपूर्ती बन्द भएपछि उनीहरू बत्ति बाल्न, मोवाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्युटरको प्रयोग गर्नबाट वञ्चित भएका छन्।

विद्युतबाट चल्ने कुटानी पिसानी मिल, फर्निचर लगायतका विभिन्न उद्योगहरू ठप्प रहेको आयोजनाका म्यानेजर सीर्पालीले बताए। कयौं बिद्युतका पोल र तार चुँडिएका कारण ढोरपाटन क्षेत्रमा बिद्युत आपूर्ति गर्न अझै दुई हप्ता लाग्ने आयोजनाहरूले जनाएका छन्। यता ढोरपाटन नगरपालिका ६ स्थित गादीखोला लघु जलविद्युत आयोजनाको पनि हिमपातका कारण विभिन्न स्थानमा पोल भाँचिएका छन्। तारहरू क्षत् बिच्छेद भएर चुँडिएका कारण बिद्युत आपूर्तिमा समस्या भएको स्थानीयले बताएकाछन्।

विद्युत सेवा अवरुद्ध भएपछि मोराङ, गादीखोला, पुरानोगाउँ, छालहाल्ना, छहरा लगायतका करिव २०५ घरधुरी विद्युत उपभोक्ता चार दिन देखि अन्धकारमा बस्न बाध्य भएको विद्युत उपभोक्ता समितिका सल्लाहकार दुर्गाबहादुर भण्डारीले जानकारी दिए। उक्त जलविद्युत आयोजनाबाट चल्ने बिद्युतका पोल तथा तार मर्मत गरी सञ्चालन गर्न करिव १ हप्ता भन्दा बढी समय लाग्ने सल्लाहकार भण्डारीले बताए। हिमपातका कारण वडा ९ का सबै बस्तीहरुमा बिद्युत अवरुद्ध छ भने वडा नम्बर चारमा समेत कयौं पोलहरू भाँचिएका छन्।थाहा साभार




सम्बन्धित समाचार


error: Content is protected !!