जुम्लामै अक्सिजन उत्पादन, बिरामीलाई सहज

जुम्ला,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादन सुरु भएको छ । पहिलो पटक जुम्लामै अक्सिजन प्लान्ट उपकरण जडान गरेर उत्पादन सुरु गरिएको हो ।
अक्सिजन उत्पादन सुरु भएसंगै बिरामीको शल्याक्रियामा सहज हुने भएको छ । अस्पतालका निर्देशक धर्मराज गोसाईले भने ‘पहिला नेपालगञ्जबाट ल्याउँदा अस्पतालमा अक्सिजनको चरम अभाव हुने स्थिति थियो तर अब बिरामीलाई अक्सिजन अभाव नहुने भएको छ।’
कर्णाली राजमार्गमा आइरहने बाढीपहिरो तथा अन्य अवरोधका कारण समयमै अक्सिजन आपूर्ति गर्न समस्या हुने गरेको थियो । आवश्यक परेको बेला अक्सिजन उत्पादन गरेर दिन सकिने अवस्थाको सिर्जना भएको निर्देशक गोसाईले बताए ।
दैनिक ५० सिलिन्डरसम्म अस्पतालमा अक्सिजन सप्लाई गर्नुका साथै ८ देखि १० सिलिन्डर भर्न सकिने प्लान्ट अस्पतालमा जोडिएको छ । उपकरण जोड्न भारतको कानपुरदेखि प्राविधिक आएका थिए ।
अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ८० वटा अक्सिजनका सिलिण्डर छन् ।










