मह उत्पादन बढेसंगै किसानको आम्दानी बढ्यो

जाजरकोट , मौरीपालन व्यावसाय बिस्तार संगै जाजरकोट नलगाडका किसानहरुको आर्थिक अवस्था सुधार भएको छ।नलगाड नगरपालिकाको डाँडागाउँ, लह, खगेनकोटलगायत क्षेत्रमा व्यावसायिक मह उत्पादन हुने गरेको छ ।
नलगाड नगरपालिकाले मौरीपालक किसानलाई सहयोग गरेपछि अघेल्लो वर्षको तुलनामा यो वर्ष १५ प्रतिशतले मह उत्पादन बढेको किसानहरुले बताएका छन् । विनास, अतिक्रमण बढ्नु, जलवायु परिवर्तन, चरण क्षेत्र अभावका र समयमा चिउरी नफुलेका कारण गत वर्ष मह उत्पादन घटेको थियो। यसवर्ष भने महको उत्पादन बढेको नलगाड कृषि शाखा प्रमुख महेशकुमार विष्टले बताउनुभयो । नलगाडमा मात्रै आठ हजार किलो मह उत्पादन भएको विष्टले जानकारी दिनुभयो । गत वर्ष जाजरकोटमा २० मेट्रिक टन मह उत्पादन भएको थियो। गत वर्षसम्म प्रतिकिलो पाँच सय पर्ने मह अहिले सात सय पुगेको छ। यहाँका २५० भन्दा बढी मौरीपालक किसानहरु मह उत्पादन बढेसंगै आम्दानीमा बृद्धी भएपछि खुसी भएको डाडागाउँका लेखबहादुर खड्काले बताउनुभयो ।
अर्गानिक मह उत्पादन हुने मौरीको सबैभन्दा उत्तम आहारा चिउरी हो। मैनपुतलीले मौरीको लार्भा र चाका खाइदिँदा मौरी भाग्ने गरेको किसानको भनाइ छ। माग धेरै भएका कारण महको मूल्य पनि आकाशिएको छ। विगतमा प्रतिकिलो पाँच सय पर्ने मह अहिले सात सय पुगेको बिसानले बताएका छन् । डाडागाउँका रणबहादुर खत्र भन्नुभयो “ महको माग बढी छ, मह उत्पादन घट्नुभन्दा पनि मौरी जोगाउनै समस्या छ ” । मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको नलगाड–२ कलपतका मौरीपालक किसानलाई नगरपालिकाले सहयोग गरेपछि थप उत्साहित भएको बताएका छन् । अर्गानिक महको महत्व बुझाउँदै जाँदा अहिले व्यापारी किसानको घरमै पुगेर मह खरिद गर्ने गरेका छन्।
नलगाड नगरपालिका भित्र मह उत्पादन हुँने ठाउँमा यातायातको पहुँच भएसंगै किसानहरुलाई व्यापार गर्न सहज भएको छ । सुरुमा परम्परागत घारबाट मह उत्पादन गरेका यहाँका किसानहरु अहिले आधुनिक घारको प्रयोग गरी मौरीपालन व्यावसाय गर्न थालेका छन् । नलगाड नगरपालिकामा चार हजार मौरीघार छन् भने जिल्लाभर ६ हजार घार रहेको बताएको छ । मौरीपालक किसानहरुले अहिले यहाँको चिउरीको रुख संरक्षणमा लागेका छन् । बन मासिदै जाँदा मौरीपालक व्यावसाय संकटमा पर्ने भन्दै उनीहरुले चिउरी संरक्षणमा लागेको बताएको हुँन् ।










