जुम्लामा एक वर्षभित्रै दुई जलविद्युत् आयोजना

लोडसेडिङको मार खेप्दै आएको तत्कालीन कर्णाली अञ्चलको सदरमुकाम खलंगा चन्दननाथ नगरपालिका यसै वर्षभित्र लोडसेडिङमुक्त हुने भएको छ । चार करोड लागतमा निर्माणधीन एक सय किलोवाट क्षमताको ठिन्के जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेसँगै सदरमुकामवासी लोडसेडिङमुक्त हुन लागेका हुन् ।
चालू आर्थिक वर्ष ०७५,०७६ को चैतसम्म बिजुली बाल्ने गरी काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष बुढ्थापाले बताए । आयोजनाको बाँध, नहर इन्ट्यांक निर्माण भइसकेको छ, अब पावर हाउस निर्माण गर्न र मेसिन जोड्ने काम बाँकी रहेकाले ३र४ महिनामा सबै काम सम्पन्न हुने उनको भनाइ छ ।
यस्तै, सदरमुकाम खलंगालाई लोडसेडिङमुक्त गर्ने उद्देश्यसाथ जुगाड खोला जलविद्युत् सहकारीको आयोजनामा ५८ किलोवाटको विद्युत् उत्पादन पनि अन्तिम चरण पुगेको छ । सवा एक करोड लागतमा जुगाड खोला जलविद्युत् आयोजना सुरु भएको सहकारीका अध्यक्ष रामकृष्ण बुढ्थापाले बताए । उनले भने, ‘६० लाख चन्दननाथ नगरपालिकाको रकम र बाँकी सहकारीको लगानी छ ।’ मंसिरभित्र विद्युत् बाल्ने तयारीका साथ काम भइरहेको अध्यक्ष बुढ्थापाले बताए । नगर, इन्ट्यांक र पावर हाउस निर्माण भइसकेको र मेसिन जोड्ने काम बाँकी रहेको उनको भनाइ छ ।
चन्दननाथ नगरपालिकाभित्र तीनवटा जलविद्युत् आयोजना गरी तीन सय ५८ किलोवाट विद्युत् उत्पादनले सबै घरधुरीमा बत्ती बाल्न पुग्ने भएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बताइन् । उनले भनिन्, ‘कलकारखाना र उद्योगधन्दा सञ्चालनका लागि यो विद्युत्ले त पुग्दैन तर नगरपालिकाभित्रका सबै घरधुरीमा बिजुली बाल्न पुग्छ ।’
जुम्लामा ०४० सालमा घुघुत्ती साना जलविद्युत् आयोजना दुई सय किलोवाटको विद्युत् पाँच सय घरधुरीका लागि निर्माण गरिएको थियो । तर, ३५ वर्षअघि निर्माण भएको सो आयोजनाबाट उत्पादित विद्युत् सदरमुकामका सबै घरधुरीमा वितरण गर्नुपर्ने बाध्यता भएपछि गाह्रो भएको हो ।
सदरमुकामकै बस्ती अँध्यारो
नगर क्षेत्रमा अहिले ४२ सय ७१ घरधुरी छन् । २० हजार ८ सय ८४ जनसंख्या रहेको चन्दननाथ नगरपालिकाका वडा नम्बर ८ र ९ मा अझै पनि विद्युत् पुगेको छैन । १० वडा रहेको नगरपालिकामा न्यून क्षमताको विद्युत् भएका कारण २ वडामा विद्युत् पुग्न नसकेको हो ।
एकातिर खलंगामा बासोबास गर्ने जनसंख्या वृद्धि हुँदै जानु र अर्कोतिर विद्युत्को क्षमता वृद्धि नभएका कारण सदरमुकामवासीले दैनिक १८ घन्टासम्म लोडसेडिङ खेप्नुपरेको साना जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए । उनले भने, ‘यसै वर्षभित्र जुम्ला सदरमुकाम खलंगा लोडसेडिङमुक्त हुनेछ र २४ घन्टा विद्युत् प्रवाह हुनेछ ।’










