सुर्खेतमा अपराध घटाउन नागरिक सचेतना अभियान

शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले ग्रामीण युवालाई चेतनामुलक संदेश दिन थालेको छ । समाजमा हुने सामाजिक विकृतीको अन्त्य गर्न प्रहरीले जिल्ला व्यापीरुपमा सचेतना कार्यक्रमलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।
चालु आर्थिक वर्षको चार महिनामा प्रहरीले सुर्खेतको लगामदेखि घोरेटासम्मको विभिन्न टोल–टोलमा पुगेर सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । प्रहरीले हालसम्म सुर्खेतका ९ वटै स्थानीय तहमा कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । अहिलेसम्म जिल्लाका २५ स्थानमा एक हजार ८१ कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले बताए ।
‘टोल टोलमा प्रहरी अभियान’बाट जिल्लाका दुई हजार पाँच सय भन्दा बढी नागरिकहरुलाई समाजमा हुने विभिन्न प्रकारका अपराधको विषयमा शिक्षा दिएको थियो । बाल बिवाह, बहुबिवाह, घरेलु हिंसा, महिला हिंसा, जर्वजस्तीकरणी, मानव बेचबिखन तथा ओसारपसार, मदिरा उत्पादन तथा बिक्री वितरण जस्ता घटना कम गर्ने उदेश्यले नागरिकहरुमा सचेतना फैलाउने काम गरेको एसपी रजौरेले बताए ।
यस अभियानले जिल्लामा बिष्फोटक पदार्थ ओसारपसारमा कमी आउने, लागु औषधलाई निरुत्साहित गर्ने, साईबर अपराध तथा सवारी दुर्घटना कम गर्नमा टेवा पुग्ने प्रहरीले विश्वास लिएको छ ।
प्रहरीले थालेको अभियानमा स्थानीयसमेत उत्साहित भएर सहभागी हुने गरेको लेकवेशी नगरपालिकाका मेयर गगनसिंह सुनारले बताए ।










