ट्रेन्ड ‘हुडी’ को

जाडो महिना लागेसँगै बजारमा विभिन्न स्टाइलमा न्याना लुगा छाउन थाल्छ । कात्तिक महिनादेखि नेपालमा जाडो मौसुरु हुन्छ । जाडो मौसमका लागि बजारमा न्यानो एवं फेसनेबल कपडा पाइन थालेका छन् । आजभोलिका युवा न्यानो मात्र नभएर विश्व फेसनलाई पछ्याएर त्यही फेसनमा आफूलाई ढाल्न खोज्छन् ।
जसले गर्दा मौसमअनुसारको पहिरन मात्र नभएर फेसनलाई पनि ख्याल गरेर स्थानीय कम्पनीले कपडाको उत्पादन गरेको पाइन्छ । नेपालमा यतिवेला हल्का जाडो सुरु भएको छ । अहिलेको मौसममा लगाइने हल्का न्याना कपडा बजारमा पाइन्छन्, तर युवाहरूले हुडी खोजिरहेको व्यापारीहरू बताउँछन् । विभिन्न रङमा पाइने र जिन्समा लगाउँदा स्मार्ट देखिने भएकाले युवाहरूले हुडी रुचाएको व्यवसायी आनन्द श्रेष्ठ बताउँछन् ।
हुडी लगाउन सहज र न्यानो पनि हुने हुनाले धेरैले रुचाउने गरेको अर्का व्यवसायी रजनी महर्जन बताउँछिन् । विभिन्न साइज र रङमा पाइने हुडी विशेषगरी युवापुस्ताले खोजिरहेको महर्जन सुनाउँछिन् । हुडी लगाउँदा न्यानो हुनुका साथै फेसनेबल पनि देखिने भएकाले पनि युवा आकर्षित भएको पाइन्छ । युवाहरूको रुचिअनुसार विभिन्न कम्पनीले विभिन्न मूल्यमा हुडीहरू बजारमा ल्याइरहेका छन् । यतिवेला युवाहरूको हुडी रुचिले ट्रेन्ड लिइरहेको देख्न सकिन्छ । कम्पनी तथा हुडीको गुणस्तरअनुसारको मूल्यमा पाइने व्यवसायीहरू बताउँछन् ।










