यी हुन् तनाव हटाउने सरल उपाय

काठमाडौं,
भनिन्छ, तनाव नहुने मान्छे संसारमा कोही हुँदैन । व्यस्तता र दौडधुपले भरिएको आजको जीवनमा जो कोही मानिसमा कार्यव्यस्ततासँगै बिहानदेखि बेलुकीसम्म कुनै न कुनै तनाव भइरहन्छ । कार्यक्षेत्रमा कामको तनाव, घरायसी तनाव, पढाइको तनाव आदि मानिसले दैनिक जीवनमा झेलिरहने समस्या हुन् ।
मान्छेले आफ्नो जिन्दगीका इच्छाहरू पूरा गर्न सकिरहेका हुँदैनन् । यस्तै, समाजमा बसिसकेपछि मानिस धेरै जिम्मेवारीबाट भाग्न सक्दैन । त्यसले तनाव सिर्जना हुन्छ । तर, तनावलाई सही ढंगले व्यवस्थापन गर्न सक्नु शारीरिक स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । तसर्थ, आफू पूर्ण रूपमा स्वस्थ रहन शारीरिक स्वास्थ्यजत्तिकै मानसिक स्वास्थ्यको पनि जरुरी हुन्छ । तनावले हृदयाघात र उच्च रक्तचाप जस्ता रोग निम्त्याउने भएकाले सकेसम्म नियन्त्रण गर्नुपर्दछ । यसका केही उपाय यस्ता छन:

खानपान बदल्नुहोस्
तपाईंलाई कुनै कुराले तनाव दिइरहेको छ भने सधैँ खाइरहेको खानाभन्दा अन्य खाना खानुहोस् । जस्तै– तनाव कम गर्न सहयोग गर्ने खानेकुरा केरा, अमला, स्याउ, जौ, कुरिलो, दूध खानुहोस् । यस्ता खानाले तनाव हटाउन सहयोग गर्नुका साथै स्वास्थ्यलाई पनि फाइदा पु(याउँछ ।
सन्तुलित दिनचर्या
तनाव व्यवस्थापनका लागि सन्तुलित दिनचर्या एकदम महत्वपूर्ण हुन्छ । जीवन र दैनिक कार्यलाई आवश्यकता र महत्वका आधारमा वर्गीकरण गरी समय निर्धारण गर्नुपर्छ । यस्तै, नियमित व्यायाम र आरामले तनावबाट मुक्ति पाउन सकिन्छ ।
समूहमा सहभागी बन्नुहोस्
आफ्नो जस्तै रुचि भएका व्यक्ति वा साथीको समूहमा सहभागी हुने र रुचिका विषयमा कुराकानी, छलफल आदिबाट मानसिक रूपमा स्वस्थ रहन सहयोग पुग्छ ।
काममा व्यस्त हुनुहोस्
मनमा धेरै कुरा खेलाइरहँदा मानसिक स्वास्थ्यमा निकै असर पर्ने भएकाले कतिपय अवस्थामा मानिसमा डिप्रेसन हुने सम्भावना रहन्छ । तसर्थ, आफ्नो ध्यान बहलाउन सकेसम्म काममा व्यस्त रहनु आवश्यक हुन्छ ।
तनावको सामना गर्नुहोस्
तपाईंलाई कस्तो अवस्था र व्यवहारले तनावमा ल्याउँछ र तनावका वेला तपाईं कस्तो प्रतिक्रिया जनाउनुहुन्छ यो बुझ्न जरुरी छ । निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सकिन्छ ।










