राष्ट्रपति भण्डारी कतारमा

काठमाडौं,राष्ट्रपत्रि विद्यादेवी भण्डारी सोमबार कतारको औपचारिक भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गरेकी छिन् । राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित भएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो । कतारका अमिर शेख तमिम विन हमान अल थानीको निमन्त्रणामा उनी त्यसतर्फ गएकी हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत उच्च अधिकारी सहभागी छन् । राष्ट्रपति १५ कात्तिकमा स्वदेश फर्किने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले कतारका समकक्षी अमिरसँग मंगलबार दोहामा द्विपक्षीय भेटवार्ता कार्यक्रम छ । त्यसक्रममा कृषिलगायतका विषयमा समझदारीको तयारी भइरहेको परराष्ट्रले जनाएको छ ।
राष्ट्रपति भण्डारीलाई कतार फाउन्डेसनका अध्यक्ष तथा सहसंस्थापक शेख मोजा विन्त नसिरसहित कतारका उच्च अधिकारीले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले दोहामा व्यापारिक समुदायद्वारा आयोजित नेपालमा व्यवसाय तथा लगानीका अवसर विषयक कार्यक्रमलाई सम्बोधन गर्ने पनि कार्यक्रम छ । राष्ट्रपतिको भ्रमण दलमा नेपाली व्यापारिक प्रतिनिधिमण्डल पनि सामेल छ ।
तस्बिर रासस










