रुकुम पश्चिमको विभिन्न सामुदायिक विद्यालयमा डिजिटल बोर्डबाट पढाई सुरु

रुकुम पश्चिम,
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका तीन विद्यालयहरुमा डिजिटल बोर्ड मार्फत पढाई सुरु भएको छ । डिजिटल बोर्डबाट पढाई हुने विद्यालयहरुमा वडा नम्बर ३ स्यालाखदीको हिमालय मावि खदी, वडा नं ५ गोतामकोटको सरस्वती मावि मिग्रि र वडा नम्बर ९ राडिको सहिद स्मृति नमुना मावि रहेका छन् ।
प्रविधिको प्रयोग गरी शिक्षाको गुणस्तरमा गुणात्मक बृद्धि गर्ने उदेश्यले हाललाई परिक्षणका रुपमा तीन विद्यालयमा डिजिटल बोर्ड जडान गरिएको नगर शिक्षा इकाई संयोजक थलबिर ओलीले बताए ।
उनका अनुसार तीन विद्यालयमा पाठ्यपुस्तक अनुसार नै डिजिटल बोर्डबाट पढाई भइरहेको छ । ‘हामिले शिक्षालाई प्रविधि सँग जोडेर अगाडि बढ्ने प्रयास गरेका छौं, उनले भने–हाल नगरका तीन विद्यालयका विद्यार्थीहरुले डिजिटिल बोर्डबाट पढिरहेका छन्, यसबाट शिक्षाको गुणस्तर कायम हुने लक्ष लिएका छौं ।’
हाल प्रत्येक कक्षामा पालो पालो डिजिटल बोर्ड मार्फत पठन पाठन भइरहेको छ । ‘हाल परिक्षणकै रुपमा प्रति विद्यालय एउटा डिजिटल बोर्ड उपलब्ध गराइएको छ । विद्यालयमा पालैपालो सबै कक्षाहरुमा डिजिटल बोर्डको प्रयोग भइरहेको छ । सुरुमा यसको प्रभाव बारे हेरेर मात्र सबै कक्षामा डिजिटल बोर्डको व्यवस्था गर्ने योजना रहेको शिक्षा इकाई संयोजक ओलीले बताए । नगरपालिकाले प्रति डिजिटल बोर्ड तीन लाख ६० हजारका दरले खरिद गरेको जनाएको छ ।
विद्यार्थीको आकर्षण बढ्दो
सिमेन्टले बनेको परम्परागत कालो बोर्डमा सेतो खरीले लेखेर पठन पाठन हुने विद्यालयमा डिजिटल बोर्ड जडान भएपछि पढाईमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । रमाई रमाई पढ्न पाइने भएपछि डिजिटल बोर्ड प्रभावकारी हुँदै गएको सरस्वती मावि एक शिक्षक दलवहादुर बुढाले बताए ।
डिजिटल बोर्ड जडान भएपछि विद्यार्थीहरुले पढाईमा ध्यान दिन थालेको र जिज्ञाशु बन्दै गएको र नियमित विद्यालयमा हाजिर हुने गरेकोसमेत उनले बताए ।
डिजिटल बोर्डका माध्यमबाट पठन पाठन गराउँन सजिलो भएको उनको अनुभव रहेको छ । पढाउँदा पढाउँदै कुनै ठाउँमा अस्पस्ट भएमा तुरुन्तै इन्टरनेटको मदत्तबाट खोजेर त्यस बारे विद्यार्थीलाई सजिलै जानकारी गराउँन सकिने भएको डिजिटल बोर्ड निकै सहयोगी बनेको शिक्षक बुढाले बताए । परम्परागत बोर्डमा लेख्दा विद्यार्थीले अक्षर नबुझ्ने समस्या पनि डिजिटल बोर्डले हटाएको शिक्षकहरुको भनाई छ ।
इ–गभर्नेन्सको आश्वासन पुरा हुँदै
नगरपालिकाले सुरु देखि वडा कार्यलयहरुमा इ–गभर्नेन्स लागु गर्ने योजना अधिसारेको थियो । टेलिफोनले समेत काम नगर्ने ठाउँमा इ–गभर्नेन्सको कुरा सुन्दा धेरैलाई अपत्यारिलो लागेको थियो । तर बिस्तारै नगरपालिका इ–गभर्नेन्समा अम्बल बन्दै गएको देखिन्छ । नगरपालिकाले १४ वटै वडा कार्यालय र केही विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ ।
नगरपालिका कार्यालय, वडा कार्यालयसहित ६ वटा सामुदायिक विद्यालयमा डिजिटल हाजिरी जडान गरिएको छ । यसलाई सबै विद्यालयमा विस्तार गर्ने नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले बताए । बिशेष गरी शिक्षालाई प्रविधि सँग जोडेर शिक्षाको गुणस्तर बढाउँनका लागि कुनै कसर बाँकी नराख्ने उनले बताए ।



