तारले हात बाँधेको अवस्थामा महिलाको शव फेला

रुकुम पश्चिम,
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका११ स्थित ठुली भेरी नदीमा एक महिलाको शव फेला परेको छ । ११ नम्बर वडाको रिठा भन्ने ठाउँमा महिलाको शव फेला परेको हो । अन्दाजी ३५,३६ वर्षकी महिलाको शव फेला परेपनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
दुबै हात ग्याविन तारले बाँधेको र अर्ध नग्न अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक ऋषि कुमार ढुंगानाले जानकारी दिए । शव सड्ने अवस्थामा पुगिसकेकाले उक्त महिलाको केहि दिन अघि नै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
गहुँगोरो वर्ण, ५ फिट उचाई, मंगोलियन जस्ती देखिने, भोटे जातिको जस्तो पहिरन लगाएकी महिला हराएको भएमा प्रहरीमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले सबैमा अनुरोध गरेको छ । असोज १२ गते बिहान शव फेला परेपनि हालसम्म पहिचान हुन नसकेको प्रहरीको भनाई छ ।
उक्त शव जिल्ला अस्पताल रुकुम पश्चिममा राखिएको छ । शवको पहिचान नहुँदा पोष्टमार्टम गर्न समस्या भैरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए ।








