चौरजहारी विमानस्थल साढे एक वर्षदेखि बन्द

रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थल साढे एक वर्षदेखि बन्द रहँदै आएको छ । विमान नभएको भन्दै नेपाल वायु सेवा निगमले २०७४ को जेठदेखि विमान पठाउन नसक्दा विमानस्थल बन्द भएको हो ।
विमान आउने जाने भएपछि रुकुम पश्चिम, जाजरकोट र सल्यानका बासिन्दा समस्यामा परेका छन् । विमानस्थल बन्द हुँदा चौरजहारी अस्पतालले रिफर गरेका गम्भीर बिरामीले अकालमा नै ज्यान गुमाउनु परेका छन् ।
उडान कहिलेदेखि सुरु हुने भन्ने बारे जानकारी नभएको चौरजहारी विमानस्थल स्टेशनका इन्चार्ज सुरेन्द्र नेपालीले बताएका छन् । विमानस्थलबाट उडान सुरु गर्न धेरै पटक पहल गरेको उनले बताए । उनले भने, ‘२०७४ को जेठदेखि उडान बन्द भएपछि उडान सुरु गर्न निरन्तर पहल गरिरहेका छौँ ।’
नगरपालिकाले पत्र पठायो, प्रतिक्रिया आएन
चौरजहारी नगरपालिकाले विमान स्थल सुरु गर्न तीन पटक पत्र पठाए पनि प्रतिक्रिया नआएको नगर प्रमुख विशाल शर्माले बताए । ‘नगरपालिकाले तीन पटक पत्र पठाइसक्यो, दुई महिनाअगाडि पनि पत्र लेखेका थियौं, उनले भने, ‘अहिलेसम्म प्रतिक्रिया आएको छैन् ।’
नगर प्रमुख शर्माले भने, ‘चौरजहारी विमानस्थल छैन भन्दा पनि हुन्छ ।’ विमान नआउने भएपछि विमानस्थल छ बेकार छ, अब विमानस्थल छ भन्ने कुरा बिर्सियाँै, उनले भने ।
२०२८ सालमा स्थापना भएको विमानस्थलमा ४४ वर्षसम्म कच्ची धावन मार्गमा नै सीमित भएको थियो । २०७३ भदौमा विमानस्थल सुधार गरी नागरिक उड्यन प्राधिकरणको करिब साढे पाँच करोड रुपैयाँमा धावनमार्ग कालोपत्रे गरिएको थियो ।
कामबिहीन कर्मचारी
लामो समयदेखि विमानस्थल बन्द भएपछि कर्मचारी कामबिहीन भएको छ । विमान उडानका लागि राखिएका कर्मचारी कामबिहीन भएका हुन् ।
‘उडान बन्द भएपछि के काम गर्नु,’ इन्चार्ज नेपालीले भने, ‘अफिस आउँने त गरेका छौं तर, काम हुँदैन ।’ कोही मान्छे उडान कहिले हुन्छ भनेर सोध्नेलाई थाहा छैन भन्ने जवाफ दिन मात्रै भएको उनले बताए ।










