नेताको थामिनसक्नु विदेश भ्रमण

नेपालका नेताहरूको विदेश भ्रमण मोह चुलिँदा देशका राजनीतिक, सामाजिक र आर्थिक मुद्दा भनेको समयमा सम्बोधन हुन सकेको छैन । सम्बन्धित पार्टीका काम मात्र प्रभावित भएका छैनन्, सरकारी काममा समेत असर गरेको छ । संघीय संरचनाका हरेक काम थाँती राखेर नेताहरू अनेक कार्यक्रमको बहनामा विदेश सयरमा व्यस्त देखिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली ६ असोजमा अमेरिका जाँदै छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिन प्रधानमन्त्री ओली उच्चस्तरीय टोलीसहित त्यसतर्फ जान लागेका हुन् ।

उपराष्ट्रपति नन्दकिशोर पुनः बुधबार चीन प्रस्थान गरेका छन् । उनले ६ दिन चीनमा बिताउनेछन् ।
ने क पा अध्यक्ष पुष्पकमल दाहाल चारदिने भ्रमण सकेर बुधबार राति नै स्वदेश फर्किएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणमा उनी ३० भदौमा चीन गएका थिए ।
दाहालले गत साता मात्र भारत भ्रमण गरेका थिए । भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायतसँग भेट गरेका थिए ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पनि गत साता चीन भ्रमण गरेका थिए । मौलिक हकसम्बन्धी महत्वपूर्ण विषयलाई थाँती राखेर उनी चीन भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका थिए ।

ने क पा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि गत साता नै चीन भ्रमण सकेर स्वदेश फर्किएका थिए ।
सत्ता पक्ष मात्र नभएर प्रतिपक्षी दलका नेताहरूसमेत चीन भ्रमणमा छन् । कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा २ असोजमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन कांग्रेस नेताहरूको १४ सदस्यीय एक टोली चीन भ्रमणमा छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा २८ भदौमा चीन प्रस्थान गरेको सो टोली आज ९बिहीबार० स्वदेश फर्कने कार्यक्रम छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल युरोपमा छन् । २९ भदौमा उनी दुई साताका लागि युरोप प्रस्थान गरेका थिए ।
नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई अमेरिकामा छन् । पत्नी हिसिला यमीसँगै अमेरिकामा रहेका उनी एक महिना बस्नेछन् ।
ने क पाका वरिष्ठ नेता माधवकुमार नेपाल घाना प्रस्थान गरेका छन् । घानाको समाजवादी पार्टीको निमन्त्रणामा पान अफ्रिकन सम्मेलनमा सहभागी हुन उनीसहित सांसद पम्फा भुसाल, ने क पाका नेता बलराम बाँस्कोटा गएका हुन् । सो टोली ९ असोजमा फर्किने कार्यक्रम छ ।
यसअघि, नेपाल अमेरिकी भ्रमण सकेर स्वदेश फर्किएका थिए । नेपाल इन्टरनेसनल सम्मेलनमा सहभागी हुन १४ भदौमा अमेरिका प्रस्थान गरेका उनी २० भदौमा स्वदेश फर्किएका थिए ।
यता, संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारत भ्रमण सकेर हालै मात्र स्वदेश फर्किएका छन् ।

सञ्चार तथा सूूचना प्रविधिमन्त्री गोकुुल बास्कोटा पनि इथियोपियामा सम्पन्न विश्व हुुलाक संघको दोस्रो सम्मेलनमा सहभागी भएर २३ भदौमा स्वदेश फर्किएका छन् ।
विदेश भ्रमणको लर्कोमा राजनीतिक दलका नेताहरू मात्र नभएर मुख्यमन्त्री पनि छन् । गण्डकी र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरू पृथ्वीसुब्बा गुरुङ र महेन्द्रबहादुर शाही चीन भ्रमणमा जाँदै छन् ।
ने क पाका शीर्ष नेताहरू विदेश भ्रमणमा सयर हुँदा भ्रातृ संगठन तथा तल्ला कमिटीको एकता नै पछाडि धकेलिँदै आएको छ । केन्द्रले अहिलेसम्म आवश्यक कानुनको मस्यौदासमेत दिन सकेको छैन । यस्तो अवस्थामा नेताहरूले महŒवपूर्ण भूमिका निभाउनुपर्नेमा कम चासो दिने गरेका छन् ।
देशमा दण्डहीनता, भ्रष्टाचार मौलाउँदै गर्दा पनि शीर्ष नेताहरूले त्यसलाई प्राथमिकता दिनुको सट्टा विदेश मोहमा बढी आकर्षित हुने गरेको पाइएको हो ।
सरकारले वैदेशिक भ्रमण निर्देशिका जारी गरेर कार्यान्वयन गर्ने क्रममा कतिपय कर्मचारीहरूमा कडाइ गर्ने प्रयास भइरहँदा नेताहरूको विदेश भ्रमण भने बढेको छ ।





error: Content is protected !!