छाती दुख्दा मुटुको समस्या हुन्छ त?

छाती दुख्नासाथ डर लाग्नु स्वाभाविकै हो । विशेषगरी, मानिसहरू छाती दुख्नासाथ मुटुमै केही भयो कि भनी डराउने गर्छन् । तर, छाती दुख्नु एउटा साधारण समस्या मात्र पनि हुन सक्छ । साथै हृदयाघातजस्तो ठूलो समस्या पनि हुन सक्छ । त्यसैले, छाती दुखेमा एकचोटी सम्बन्धित चिकित्सकको सल्लाह लिएमा ढुक्क हुन सकिन्छ ।

छातीभित्र धेरै अंग रहेका हुन्छन् । फोक्सो र मुटुबाहेक, छातीका हड्डी, मांसपेशी पनि रहेका हुन्छन् । श्वास नली, खानाको नली पनि छाती हुँदै फोक्सो र पेटतिर जान्छ । छाती र पेटलाई डायफ्राम भन्ने अंगले छुट्याउँछ । साथै बाहिरपट्टि फोक्सोलाई ढाकेर बसेको पत्र जसलाई प्लुरा र मुटुको बाहिर ढाक्ने पत्र जसलाई पेरिकार्डियम भनिन्छ । यीमध्ये कुनै पनि अंगप्रत्यंगमा समस्या भएमा छाती दुख्ने समस्या हुन सक्छ ।

मुटुका आफ्नै मांसपेशीमा रगत प्रवाह गर्ने रक्तनलीहरूमा संकुचन आएमा वा बोसो जम्दै गएर साँघुरिन गएमा मानिसलाई आरामको अवस्थामा केही गाह्रो हुँदैन । तर, काम गर्दा, उकालो चढ्दा, भारी उठाउँदा वा मुटुलाई बढी दबाब पर्ने कुनै अवस्था आएमा साँघुरिएको रक्तनलीबाट पर्याप्त रगत प्रवाह हुँदैन । जसले गर्दा मुटुका मांसपेशीलाई अक्सिजनको कमी हुन पुग्छ र छाती दुख्न थाल्छ ।

रक्तनली धेरै नै साँघुरो भइसकेको छ भने २,४ पाइला हिँड्दा पनि छाती दुख्न थाल्छ । छातीमा ठूलो ढुंगाले थिचेजस्तो, छातीमा केही चिजले बाँधेजस्तो हुन्छ ।

यो दुखाइ धेरैजसो समयमा देब्रे पाखुरातिर तथा कहिलेकाहीँ चिउँडोको देब्रे भागतिर पनि सर्छ ।

यस्तो अवस्थामा सास फेर्न गाह्रो हुने, छटपट हुने आदि पनि हुन सक्छ ।

केहीबेर आराम गरेपछि वा गरिरहेको काम चटक्कै छाडेर आराम गरेमा यस्तो दुखाइ कम हुँदै जान्छ । यस्तो दुखाइलाई मेडिकल भाषामा एन्जाइना भनिन्छ । तर, साँघुरिएको रक्तनलीमा अकस्मात् रगत जम्न गई रक्तनली पूरै बन्द भइदियो भने हृदयाघात हुन्छ ।

यस अवस्थामा रक्तनलीले रगत पु(याउनुपर्ने मुटुको मांसपेशी मर्न जान्छन् र फेरि काम गर्नै नसक्ने स्थितिमा पुग्छन् । हृदयाघातको दुखाइ आराम गरेर बसिरहेको अवस्थामा पनि हुन सक्छ । हृदयाघातको दुखाइ एन्जाइनाजस्तै किसिमको हुन्छ, तर दुखाइ अधिक हुन्छ र आराम गरे पनि कम नहुने खालको हुन्छ ।





error: Content is protected !!