द्वन्द्वमा भागेका सैनिकलाई सर्वस्वसहित जन्मकैद

कालिकोट ्र द्वन्द्वको समयमा भागेको आरोपमा नेपाली सेनाको समरी जनरल सैनिक अदालतले एक सैनिकलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । त्यसविरुद्ध पीडित परिवारले सर्वोच्च अदालतमा रिट दायर गर्नुका साथै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् ।
कालिकोटको शुभकालिका गाउँपालिका–५ सुकाटियाका सिंहबहादुर शाहीलाई १४ वर्षपछि जन्मकैदको फैसला सुनाइएको हो । समरी जनरल सैनिक अदालतले १९ वैशाखमा सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । फैसलामा शत्रुसम्बन्धी कसुर ऐनअन्तर्गत दोषी ठहर गरिएको जनाउँदै सर्वस्वसहित जन्मकैद, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त गर्ने उल्लेख छ । त्यस्तै, उनले हिनामिना गरेको तीन थान म्यागजिनको एक सय ८२ रुपैयाँ ९६ पैसाका दरले पाँच सय ४८ रुपैयाँ ८८ पैसा तथा ६० राउन्ड काट्रिजको २४ रुपैयाँ ५० पैसाका दरले एक हजार चार सय ७० रुपैयाँ सजाय सुनाएको छ ।
तारादल गणका कार्यरत उनलाई १८ पुस, ०६१ मा धादिङको चरौदीमा अप्रेसनमा खटिएका वेला एउटा इन्सास राइफल, तीन म्यागजिन र त्यसको ६० राउन्ड काट्रिज लगेर भागेको आरोप छ । त्यही आरोपमा गत ७ फागुनमा घरबाटै पक्राउ गरिएको उनका दाइ नन्दबहादुर शाहीले बताए । तर, समरी जनरल सैनिक अदालतले भने ९ वैशाखदेखि थुनामा रहेको जनाएको छ । र, त्यही दिनदेखि कैद गणना गर्न कारागारलाई पत्राचार गरेको छ ।
माओवादीले कब्जा गरेको दाबी
सिंहको परिवारले भने उनी नभागेको बताएका छन् । गस्तीमा रहेका वेला तत्कालीन माओवादी सेनाले कब्जामा लिएको उनका दाइ नन्दको दाबी छ । ‘१८ पुस ०६१ मा चरौदीमा तत्कालीन शाही सेना र माओवादीको जनमुक्ति सेनाको भिडन्तमा भाइलाई माओवादी सेनाले कब्जामा लिएका थिए,’ उनको भनाइ छ ।
त्यतिवेला माओवादी सेनाले उसलाई आफुसँग लिएर गएको उनको दाबी छ । ‘उसलाई माओवादीले कब्जामै राखेको थियो, शान्ति प्रक्रियापछि मात्रै मुक्त गरेको हो,’ नन्दले भने ।
त्यसयता सिंहबहादुर घरायसी काममै रहेको नन्दले बताए । कहिले भारतमा मजदुरी त कहिले घरमै खेतीपाती गर्दै आएका उनलाई पक्राउ गरिएपछि परिवारको बिचल्ली भएको छ । ६ छोराछोरीसहित आठजनाको परिवार उनमै निर्भर रहेको छ ।
सर्वोच्च अदालतमा रिट
समरी जनरल सैनिक अदालतले जन्मकैदको सजाय सुनाएका सिंहबहादुर शाहीका दाइ नन्दले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । झुटा मुद्दा खारेज गरी भाइलाई रिहाइ गर्न उनले सर्वोच्चमा दर्ता गरेको रिटमा माग गरेका छन् ।
त्यस्तै, उनले राष्ट्रिय मानवअधिकार आयोगमा पनि निवेदन दिएका छन् । आयोगलाई दिएको निवेदनमा पनि सिंहबहादुरलाई झुटा मुद्दा लगाएर कैद सजाय तोकिएको आरोप लगाएका छन् । मुद्दाको खारेजी र सिंहको रिहाइका लागि पहल गरिदिन आयोगलाई आग्रह गरेका छन् ।










