घाम लागे फोन गर्न पाउँछन् डोल्पाबासीहरु

बि पी डोल्पाली
डोल्पा । डोल्पामा यत्तिखेर नेपाल टेलिकमले प्रवाह गर्दै आएको मोवाईल सेवा घामको भरमा चलेको छ ।
नेपाल टेलिकम कार्यालयमा जडान गरिएको सोलार प्यानलका ब्यार्टी समेत ड्यामेज भएपछि टेलिकमका सबैप्रकारको मोवाईल सेवा घाम लागुन्जेल सम्म मात्र संचालन हुने गरेको छ ।
गएको भदौको १९ गते दुनैस्थित जैरिगाड जलबिद्युत केन्द्रको नहरमा ठुलो पहिरो आई ठाउँ ठाउँमा भत्काए पछि बिद्युत आपुर्ति बन्द भएको छ ।
टेलिकममा रहेका सोलार प्यानलका ब्याट्री समेत ड्यामेज भएपछि घाम राम्रो संग लागेको दिनमा मात्र बिटियस मोवाईल सेवा दिनभर संचालनमा आउने गरेको र घामनलागेको दिनमा सेवा अबरुद्द हुने गरेको हो ।घामको भरमा चलेको मोवाईल सेवा नियमित नहुँदा डोल्पाली सेवाग्राही मर्कामा पर्दै आएका छन ।
टेलिकममा भएका केही सोलार ब्यार्टीले थारै पावर उत्पादन गरिरहेकोले एडिएसएल ल्याण्डलाईन सेवा बाहेक अन्य सेवा घाम लागेको समयमा चल्ने तर घामनलागेको समयमा अबरुद्द हुने गरेको टेलिकम डोल्पाका प्रमुख दयाबिक्रम केसीले बताए ।
बिटियस प्रणालीको सेवामा बिद्युतको पावर बढि लाग्ने गरेकोमा जिल्लामा बिद्युत पनि बन्द भएको अवस्था र सोलारका ब्यार्टी समेत ड्यामेज भएकाले घाम लागेको बेलामा मात्र मोवाईल सेवा संचालनमा हुने घाम नलागेको समयमा अवरुद्द हुने गरेको छ प्रमुख केसीले भने ।
सदरमुकाम दुनै लगायत ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा ब्याकप पावरको अभावमा साँझबाट बिहान घाम नलागे सम्मको लागि मोवाईल टावरले काम नगर्दा ग्राहकहरु मर्कामा पर्ने गरेका छन ।
छिटो भन्दा छिटो ब्याकप ब्याट्रीको ब्यवस्था गरिदिन नेपाल टेलिकमको क्षेत्रीय कार्यालयलाई पत्रचार गरिसकिएकोले एक साता भित्रमा मोवाईल सेवाको नियमिततामा देखिएको समस्या समाधान हुने नेपाल टेलिकम डोल्पाले जनाएको छ ।










