नगरप्रमुख नै फोहर उठाउन निस्केपछि

जाजरकोट , असोज २ । नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावल मंगलवार विहानै हातमा कुचो लिएर फोहर उठाउन निस्केपछि नजिक रहेका कर्मचारी, प्रहरी र स्थानियले पनि साथ दिदै सरसफाईमा जुटे । नगरप्रमुख सहितको टोलीले नलगाड नगरपालिकाको मुकाम रहेको दल्ली क्षेत्रमा सरसफाई गरेको हो ।
तेस्रो संविधान दिवसको अवसरमा आज नगरपालिकाले नगर क्षेत्रको सरसफाई गरेको हो । आफ्नो नगर क्षेत्रको दल्ली, कालिमाटी, छेप्का, चिसापानीबैरीताल लगायतका क्षेत्रमा रहेका सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, बाटोघाटो, नदि, खानेपानीका मुहान लगायतका क्षेत्रमा सरसफाई गरेको नगरप्रमुख रावलले बताउनु भयो ।
उहाँले नगरलाई स्वच्छ तथा सफा राख्नका लागी संविधान दिवसको अवसर पारेर सरसफाई अभियान थालिएको बताउनु भयो । स्थानियलाई जागरण गर्नको लागी प्रत्येक महिनाको एक दिन नगरसरसफाई गरिने नगरप्रमुख रावलको भनाई छ ।
घरआँगन र सार्वजनिक क्षेत्रमा सम्बन्धित निकायले अनिवार्य सरसफाई गर्ने र बाटोघाटो तथा सार्वजनिक स्थलमा अभियानको रुपमा सरसफाई गरि सुन्दर नगर बनाउने उहाँले बताउनु भयो । सार्वजनिक स्थलमा फोहर गर्ने कार्य जनचेतनाका माध्यमबाट रोक्ने गरि कार्य गरिने तर अटेर गरि जथाभावी फोहर फाल्ने कुरा नरोकिए कानुन बनाएरै भएपनि कारवाही गरिने नगर प्रमुखको भनाई छ ।
यसै विच नलगाड नगरपालिका ले संविधान दिवसकै अवसरमा आयोजना गरेको खुला व्याडमेन्टिन प्रतियोगीताको आजै विहान नगर प्रमुख टेक वहादुर रावल र निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र सिंह ले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।





error: Content is protected !!