मध्यपहाडी लोकमार्ग खुल्न एक साता लाग्ने, विकल्प खोजि

ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा पर्ने तुरतुरेमा गएको पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग खुलाउन एक साताभन्दा बढी लाग्ने भएपछि वैकल्पिक सडक सञ्चालनको तयारी भएको छ । शुक्रबार पहिरो गएपछि पश्चिम बाग्लुङ यातायात सम्पर्कविहीन भएको छ । ठूलो सुक्खा पहिरो भएका कारण लोकमार्ग सञ्चालनमा ल्याउन कठिन देखिएपछि पश्चिमका चार स्थानीय तहले वैकल्पिक सडक सञ्चालन गर्न पहल सुरु गरेका हुन् ।
वैकल्पिक मार्ग मर्मतको तयारी
बाग्लुङका चार स्थानीय तहको पहलमा वैकल्पिक मार्गका रूपमा रहेका सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने तयारी छ । लोकमार्ग अवरुद्ध भएपछि चार स्थानीय तहका प्रमुख बसी वैकल्पिक मार्ग सञ्चालनमा पहल सुरु गरेका हुन् । वैकल्पिक सडकको अवस्थाबारे अध्ययन गर्न टोलीसमेत खटिएको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले बताए । तुरतुरे डाँडामा खसेको पहिरोले बडिगाढ खोला थुनिनुुका साथै मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो ।
यस्ता छन् विकल्प
लोकमार्ग अवरुद्ध भएसँगै पश्चिमका ढोरपाटन, तमानखोला, निसीखोला र बडिगाडका केही स्थानमा यातायात ठप्प छ । लोकमार्गको वैकल्पिक मार्गका रूपमा बडिगाड गाउँपालिकाको भिमगिठे छिस हुँदै सिस्नेरी, दर्लिङखोला हुँदै निसीखोला गाउँपालिकाको भांजा, राजुकट हुँदैै ढोरपाटन नगरपालिका– २ को तारीखेत सेरासम्म आउने गरी सवारीसाधन सञ्चालनमा ल्याउने तयारी छ । चाडपर्वको समयमा बजारमा खाद्यान्नलगायत वस्तुको अभाव हुन नदिन स्थानीय तहका प्रमुख सक्रिय भएका छन् । अत्यावश्यकीय वस्तु ओसारपसार र यात्रुका लागि सहजता हुने गरी उक्त सडक सञ्चालन गर्न लागिएको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले बताए ।
ताल फुटाउन काठमाडौंबाट विज्ञ टोली आउने
शुक्रबारको पहिरोले थुनिएको बडिगाड खोलामा बनेको ताल फुटाउन काठमाडौंबाट विज्ञटोली आउने भएको छ । करिब सात घन्टा थुनिएको खोला शनिबार बिहान ६ बजेबाट ‘ओभरफ्लो’ भएको थियो । पानी परे झन् जोखिम हुने भएकाले ताल फुटाउनुपर्ने भएको हो । शुक्रबार राति करिब साढे ११ बजे पहिरो खसेर खोला थुनिँदा ठूलो ताल बनेको थियो । खोलामा बनेको ताल फुटाउन गृह मन्त्रालयको विपद् महाशाखालाई विज्ञ टोली पठाउन अनुरोध गरिसकेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताए ।
तटीय भाग जोखिममा
खोला थुनिएर ताल बनेपछि आसपासका भिमगिठे, खाल, खार र खर्बाङ बजारदेखि रुद्रवेणीसम्मको तटीय भाग जोखिममा परेको छ । त्यस्तै, गुल्मीका खण्डमा पनि खतरा हुन सक्ने भन्दै सूचना पठाइएको खरेलले बताए । बडिगाड खोला बुर्तिवाङदेखि गुल्मीको रुद्रवेणीसम्म पुगेर कालीगण्डकी नदीमा मिसिन्छ । पानीको बहाव पहिरो गएभन्दा माथितर्फ बढ्दै जाँदा ढोरपाटन नगरपालिका– २ सिमलचौरका देवीराम कुमाल र कृष्णबहादुर कुमालको दुईतले घरगोठ, रामबहादुर कुमालको गोठ डुबानमा परेका छन् । सोही स्थानमा चराबहादुर कुमालको गोठमा रहेका तीन वटा गोरु गोठमा बाँधेको अवस्थामा डुबेका छन् भने एउटा पोल्ट्री फर्मसमेत डुबानमा परेको छ ।
मृतकको परिवारलाई राहत
सोमबार बाटो हिँड्ने क्रममा तुरतुरेको पहिरोमा परी ज्यान गुमाएकी विविरण खातुनको परिवारलाई ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाले राहत प्रदान गरेको छ । खातुनका श्रीमान् आयुब मियालाई ढोरपाटन नगरपालिका बाट २५ हजार रुपैयाँ र बडिगाड गाउँपालिकाबाट २५ हजार रुपैयाँ गरी ५० हजार रुपैयाँ हस्तान्तरण भएको हो । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले व्यक्तिगततर्फबाट १० हजार रुपैयाँ राहतस्वरूप हस्तान्तरण गरेका थिए । पीडित परिवार बुर्तिबाङ बजारमा व्यवसाय गर्दै आएको थियो । मृतक खातुनको शव सोमबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टमपछि परिवारले दाहसंस्कारका लागि आफ्नै गाउँ अर्घाखाँचीको छत्रदेव गाउँपालिका चिदिका लगेको छ । पहिरोले लोकमार्ग अवरुद्ध भएपछि सोही बाटो हुँदै बुर्तिबाङबाट बडिगाडतर्फ जाँदा ढुंगा खसेर उनलाई पुरेको थियो । उनीसँगै हिँडेका श्रीमान् भने पहिरोबाट बच्न सफल भएका थिए ।
घर र गोठधनीको परिवारलाई पनि राहत हस्तान्तरण
बडिगाढ थुनिएर डुबानमा परेका घर र गोठधनीलाई पनि राहत वितरण भएको छ । ढोरपाटन नगरपालिका– २ सिमचौरमा घरगोठ डुबानमा परेका परिवारलाई राहत हस्तान्तरण गरिएको हो । टिनको छानो भएको तीनतले घर र एक गोठ डुबानमा परेका स्थानीय देवीराम कुमालको परिवारलाई नगद ७५ हजार रुपैयाँ, टिनको छानो भएको दुईतले घर र कुखुरा फर्म डुबानमा परेको कृष्णबहादुर कुमालको परिवारलाई ५० हजार रुपैयाँ र दुई गोठ तथा दुई गोरु डुबानमा परेका चुडाबहादुर कुमालको परिवारलाई ४० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यसैगरी एउटा गोठ डुबानमा परेका दुर्गाबहादुर कुमालको परिवारलाई २५ हजार रुपैयाँ राहत दिएको नगरप्रमुख नेपालीले बताए । आफ्नो नगरपालिकाका बासिन्दाको घर डुबानमा परेको भन्दै नगरप्रमुख नेपालीले घरगोठ बनाउन जस्ता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।










