सुन खोज्न घरदैलो

रुकुम पश्चिम — भारतको मध्यप्रदेशस्थित बालाघाट जिल्लाको कन्सोलीका ३० वर्षीय चन्दनलाल मडावी पत्नी सुन्दरी र एक बच्चासहित मुसिकोट नगरपालिका–१, खलंगा बजार आएका छन् । सोही ठाउँकी २५ वर्षीया अनीता मडावी पति र एक बच्चासहित खलंगा पुगेको दुई दिन भयो ।

चन्दनलाल र अनीता मात्रै होइन, अन्य ३ जोडी पनि बालबच्चासहित दिनभर खलंगा बजारमै बिताउँछन् । १५ जनाको समूह सुन खोज्न खलंगा बजारमा पसल चहार्दै हिँडेको छ । बजारका हरेक सुनचाँदी पसलअगाडिको ढुंगा, माटो, हिलो र धूलोमै उनीहरूले सुन खोजिरहेका छन् ।

‘यो पहाडको इलाकामा पहिलो पटक हो,’ चन्दनलालले भने, ‘तराईका विभिन्न जिल्लामा सुन खोजेर यता आयौँ ।’ यो समूहले यसअघि वीरगन्ज, पोखरा, दाङको घोराही, तुलसीपुर बजारमा सुन खोजिसकेको छ । चन्दनलालले सानै उमेरदेखि सुन खोज्न थालेका हुन् । पहिले खोला र नदीको बालुवामा सुन खोजेका उनी पछिल्लो समय सुन पसलअगाडि मात्रै सुन खोज्छन् ।

एक्लै हुँदा पनि सुन खोज्ने गरेका चन्दनलाल बिहेपछि पत्नीसँगै सुन खोज्ने गरेका छन् । चार छोराछोरीमध्ये ३ छोराछोरी घरमै छन् । एक जनालाई उनले आफैंसित सुन खोज्न हिँडाउने गरेका छन् । दुई जनाले एक दिनमा एकदेखि डेढ लाल सुन पाउने गरेको उनले बताए । अनीताले सुन खोज्न थालेको दुई वर्ष भयो । विवाहपछि नै उनले यसरी सुन खोज्न थालेकी हुन् ।

सुन पसलअगाडिको ढुंगा, माटो, हिलो र धूलो सोहोरेर लिने उनीहरूले पानीले पखालेर सुन भेटाउँछन् । भाँडामा राखेर पानीमा घोल्दै घोल्दै ससाना ढुंगा, माटो, कसिंगर बगाएर सुन भेटिने गरेको उनीहरूको भनाइ छ । एकदमै साना–साना कण जोडेर उनीहरूले दिनमा एकदेखि डेढ लाल सुन संकलन गर्छन् । हरेक हप्ता आठ लालभन्दा बढी सुन भेटाउने गरेको उनीहरूको भनाइ छ ।

वर्षमा डेढदेखि दुई तोलासम्म सुन भेटाउने गरेको चन्दनलालले बताए । ‘यही काम गरेर जहान पाल्न पुगेको छ,’ उनले भने, ‘सानैदेखि यसरी नै सुन खोजेर जीविकोपार्जन गरिरहेका छौं ।’ साना सुनको टुक्रा भेटिएपछि बढाउँदैबढाउँदै त्यसलाई बिक्री गरेर आम्दानी गरिरहेको उनको भनाइ छ ।

स्थानीय व्यापारी लालबहादुर महतले ठूलो मिहिनेतले मात्रै सुन भेटिने गरेको बताए । ‘उहाँहरूको मिहिनेतबाट हामीले सिक्नुपर्छ,’ उनले भने, ‘निरन्तर लगाव र ठूलो मिहिनेतले उहाँहरूले सुन भेटाउनुहुँदो रैछ, हामी अरू काममा सफल हुन्छौं ।





error: Content is protected !!