विद्युत नहुँदा स्वास्थ्य सेवा प्रभावित

हेमन्त के सी
जाजरकोट , गत साउन २८ गते आएको बाढीका कारण विद्युतको नहर र पोलहरु वगाएपछि नलगाड नगरपालिकाकाको स्वास्थ्य सेवा प्रभावित भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे सेवा , ल्याप सेवा देखि विभिन्न अन्य सेवा समेत प्रभावित भएका छन् । लामो समय देखि विद्युत सेवा सुचारु हुँन नसक्दा स्वास्थ्य सेवा प्रभावित भएको हो । दैनिक एक्सरेका लागि आउँने विरामीलाई विद्युतको अभावमा सेवा दिन मुस्किल भएको केन्द्रले बताएको छ । एक्सरे गर्न रुकुमको चौरजहारी , जाजरकोट सदरमुकाम आउँनु पर्ने वाध्यता रहेको छ । त्यस्तै नलगाड नगरपालिकाको दैनिक काम समेत प्रभावित भएको छ । दैनिक सेवा लिन आएका स्थानीयहरु हैरान भएका छन् । यहाँ रहेको छापाखाना समेत वन्द भएको छ ।

जेनेरेटर चलाएर केही समय सेवा प्रवाह गरेपनि अधिकांश समय सेवा प्रभावित हुँदै आएको छ । नेपाल प्रहरीको सञ्चार सेवा समेत विद्युत आपुर्ती नहुँदा अवरुद्ध भएको छ । विद्युत नहुँदा यहाँका स्थानीयहरु मोवाईल चार्ज , टेलिभिजन हेर्न समेत नपाएको कालीमटीका शिक्षक दिनेश ओलीले बताए । नगरपालिकाका भित्रका सवै सरकारी सेवा समेत ठप्प भएका छन् ।
यत्ता जिल्ला समन्वय समितिका प्रमुख मनवहादुर रावलका अनुसार नलगाड नगरपालिकामा विद्युत सेवा सुचारु गर्न उर्जा मन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणलाई तत्काल ३० बटा पोल र आवश्यक मात्रामा तार उपलव्ध गराउन आदेश दिएका छन् । शुक्रबार नै विद्युत प्राधिकरणले नेपालगन्ज कार्यालयलाई पोल र तारका दिन परिपत्र गर्ने उनको भनाई छ । शुक्रबार नै आवश्यक सामग्री लिएर जाजरकोट जाँने तयारी भएको रावलको भनाई छ ।
यहाँका तीनबाट विद्युत आयोजनामा व्यापक क्षति बनाएपछि स्थानीय तहबाट सो मर्मत गर्न वजेट अपुग हुँने भएपछि केन्द्र संग आग्रह गरिएको नलगाडका नगरप्रमुख टेकवहादुर रावलले बताए ।सांसद कालीवहादुर मल्ल र गणेसप्रसाद सिंहले अन्य ठाउँमा भएको क्षतिका विषयमा केन्द्रीय दैविप्रकोप उद्धार समितिको वैठकबाट थप निर्णय गरेर निर्माण तर्फ जुट्ने बताउनुभयो ।










