नौ वर्षमा पनि बनेन विद्यालय भवन

रुकुम ः रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयको छात्रावास तथा प्रशासनिक भवन निर्माण सुरु गरिएको करिब एक दशक पुग्न लाग्दा पनि सम्पन्न भएको छैन।
भारतीय दूतावासको आर्थिक सहयोगमा तत्कालीन जिल्ला विकास समितिमार्फत ठेक्का आह्वान भई काम सुरु गरिएको भवन निर्माण यतिका लामो समयसम्म सम्पन्न नभएपछि त्रिभुवन जनता मावि र जिल्लाका अन्य शैक्षिक संस्थाहरुमा दूतावासले दिँदै आएको सुविधा रोकिएको छ। आर्थिक वर्ष २०६६र६७ मा भवन निर्माण सुरु भएको थियो। तर, दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने काम करिब नौ वर्षसम्म पनि ठेकेदार कम्पनीले विद्यालयलाई भवन हस्तान्तरण गर्न सकेको छैन।
१५ वटा कोठासहितको भवनको झ्यालढोका र रंगरोगनको काम बाँकी छ। भवन निर्माण सम्पन्न नहुँदा छात्रावास र प्रशासनिक कामकाज प्रभावित प्रधानाध्यापक हरिप्रसाद खनालले बताए। उनका अनुसार भवन निर्माणको काम नसकिएकाले दूतावासबाट त्रिभुवन मावि र जिल्लाका अन्य शैक्षिक संस्थाहरुमा दिने अन्य सुविधा समेत रोकिएको छ। ‘विद्यालय भवन निर्माण सम्पन्न नहुँदा छात्रावास र प्रशासनिक काममा अवरोध त भयो,’ प्रधानाध्यापक खनाले भने, ‘दूतावासबाट जिल्लामा आउने अन्य सहयोग पनि रोकिएको छ।’ प्रधानाध्यापक खनालका अनुसार दूतावासको एउटा आयोजना सम्पन्न भएर हस्तान्तरण नभएसम्म अर्को योजना दिने गरेको छैन। जसले गर्दा जिल्लामा दिने तयारी गरिएको पुस्तकालय, एम्बुलेन्स लगायतका सहयोग पनि रोकिएका छन्।
त्रिभुवन माविको भवन स्वच्छन्द कन्ट्रक्सन सूर्य जेभीले दुई करोड ७८ लाख रुपैयाँमा निर्माणको जिम्मा लिएको थियो। कम्पनीले पहिलो किस्ता बापत रकम लिइसकेको छ। भवन निर्माणको ढिलासुस्तीबारे कम्पनीका प्रतिनिधि टेकबहादुर पुनले विभिन्न कारणले समयमै भवन निर्माण गर्न नसकेको बताउँछन्। ‘भवनको काम अन्तिम चरणमा छ, झ्याल ढोका राख्ने काम पनि करिब एक महिना भित्रै सम्पन्न हुन्छ’ उनले भने, ‘दूतावासका कर्मचारी अन्तिम अनुगमनका लागि जिल्लामा नआउँदा मैले लिनुपर्ने अन्तिम किस्ता पनि भुक्तानी भएको छैन। स्रोत जुटाउन समस्या हुँदा केही ढिला पनि हुन गयो।
रुकुमको विभिन्न योजना आयोजनामा ढिलासुस्ती गर्ने नौ ठेकेदार कम्पनीको सूची यसअघि नै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गृह मन्त्रालयमा बुझाइएको छ। बुझाइएको नाममा स्वच्छन्द कन्ट्रक्सन सूर्य जेभी पनि रहेको छ।





error: Content is protected !!