निसान छापमै कालापानी गायब, मालिकलाई थाहै नदिई करोडौंको कम्पनी बिक्री

काठमाडौं । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । निसान छापमै नेपाली भूमि कालापानी गायब भएकोदेखि त्रिविमा विद्यार्थीको आकर्षण घटेको, खाडीमा नेपाली महिलाको कोख भाडामा लगाउने गरिएको लगायतका खबरलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् ।
पहिलो पृष्ठमै प्राथमिक तहका विद्यार्थीलाई ०६७ सालदेखि दिइँदै आएको दिवाखाजा सरकारले कटौती गरेको, प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध चार उजुरी परेको, ६० करोडको कम्पनी मालिकलाई थाहै नदिई कर्मचारीको नाममा सारिएको, विदेशमा रहेका नेपालीलाई तत्काल मताधिकार असम्भव रहेको लगायत खबर छन् ।
भित्री पृष्ठमा रौतहटको कटहरिया नगरपालिकाका उपमेयरविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको, उपसचिवमाथि खुला प्रवेश बन्द भएको, विजय गच्छदारले कांग्रेसभित्र आफू समर्थक २० हजारलाई सदस्यता दिनुपर्ने माग गरेकोलगायत समाचार छन् ।
निसान छापमै कालापानी गायब
सरकारले नै राखेका अधिकांश नक्सामा दार्चुलाको कालापानी छुटाएको भेटिएको छ । अन्नपूर्ण पोस्ट दैनिकका अनुसार निसान छापमै प्रयोग गरिएका नक्साबाट समेत कालापानी गायब भएको छ ।
‘नेपाली भूभाग कालापानीमा लामो समयदेखि भारतले सेना राख्दै आएको छ’, अन्नपूर्ण खबरको अगाडि लेख्छ– यसमा भारतलाई साथ पुग्ने गरी सरकारी नक्सा बनाइएको छ । यसको नापी विभागले पुष्टि गरेको छ ।’
‘देशको निसानी मानिने छापमा राखिएको नक्सै त्रुटिपूर्ण छ’ विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले अन्नपूर्णसँग भनेका छन्, ‘पहिलाको नक्साबाट कालापानीको ठूलो भूभाग हटाइएको छ । प्रधानमन्त्री कार्यालयको वेबसाइटमै अपूरो नक्सासहितको निसान छाप राखिएको छ ।’ उपमहानिर्देशक श्रेष्ठले सच्याउन पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो समेत गरेका छन् ।
समाचार अनुसार ती नक्साबाट वैज्ञानिक मापन गर्दा कालापानीको ६ हजार हेक्टरभन्दा बढी भूमि गायब छ ।
त्रिविमा ४ वर्षमा अढाइ लाख विद्यार्थी घटे
नयाँ पत्रिका दैनिकले आज त्रिभुवन विश्वविद्यालयमा चार वर्षमा झन्डै साढे दुई लाख विद्यार्थी घटेको तथ्यांकलाई मुख्य समाचारको रुप दिएर पस्केको छ ।
समाचार अनुसार ०७२ मा आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा गरी ६ लाख ४ हजार ४ सय ३७ भर्ना भएकामा ०७५ मा जम्मा ३ लाख ६७ हजार ४ सय २७ मात्र भर्ना भएका छन् ।
समाचार मात्र आंगिक क्याम्पसमा मात्र नभएर सम्बन्धनप्राप्त कलेजमा समेत विद्यार्थी संख्या घटेको छ । यद्यपि, चुनाव हुने वर्ष भने विद्यार्थी बढ्ने गरेका छन् । जानकारहरुले समेस्टर र त्रिविको बेथितिले विद्यार्थी घटेको औंल्याएका छन् ।
६० करोडको सम्पत्ति सुटुक्क कर्मचारीको नाममा
नयाँ पत्रिकामै कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँ बराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ ।
नक्कली कागजपत्रका आधारमा कम्पनी रजिष्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जतियाको शंकर इलेक्ट्रिोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएको हो । जटियाको कम्पनीको नाममा नेपालमा घरजग्गासमेत गरेर करिब ६० करोडको सम्पत्ति थियो ।
नयाँ पत्रिकाका अनुसार, प्रहरीले चार सरकारी कर्मचारीसहित १२ लाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।
जहाजभन्दा ट्याक्सी महँगो
कान्तिपुर दैनिकले आज ट्याक्सी सिन्डिकेटबारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार जहाजभन्दा ट्याक्सी महँगो छ ।
०७२ माघ २४ मा सरकारले निर्धारित शुल्कअनुसार ट्याक्सीको एक किलोमिटरको ३५ रुपैयाँ छ । नापतौल गुणस्तर विभागले भने यातायात व्यवस्था विभागले निर्धारण गरेभन्दा एक रुपैयाँ बढाएर ३६ रुपैयाँ लिन पाउने गरी मिटरमा सिल लगाउने गरेको छ । विभागले निर्धारण गरेको भाडाअनुसार ट्याक्सीमा चढ्नेबित्तिकै मिटरमा १४ रुपैयाँ उठ्छ । प्रतिदुई सय मिटरमा सात रुपैयाँ उठ्नुपर्ने हो तर ७ रुपैयाँ २० पैसा उठ्छ ।










