तालिवानले ‘महान् लडाकु’ मानेका हक्कानी को थिए ?

अफगानिस्तानको हक्कानी लडाकु नेटवर्कका संस्थापक जलालुद्दिन हक्कानीको मृत्यु भएको छ । उनी लामो समयदेखि अस्वस्थ थिए । उनको मृत्यु भएको अफगान तालिवानले पुष्टि गरेको छ । उनको मृत्यु भएको यकिन दिन र अन्य विस्तृत विवरण भने तालिवानले खुलाएको छैन ।
जलालुद्दिन हक्कान अफगानिस्तानको हक्कानी नेटवर्कका महत्वपूर्ण पात्र थिए । उनको तालिवान र अन्तर्राष्ट्रिय अतिवादी सञ्जाल अलकायदासँग सुमधुर सम्बन्ध थियो । पछिल्ला दशकमा अफगानिस्तान र नेटो फौजमाथि भएका शृंखलाबद्ध र सुनियोजित हमलामा हक्कानी नेटवर्कको संलग्नता थियो । ‘युवा अवस्थामा अल्लाह धर्मका लागि कडा संघर्षको सामना गरेका उनले पछिल्ला वर्षमा स्वास्थ्यसम्बन्धी लामो समस्या झेलेका थिए,’ अफगान तालिवानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उनको यसअघि पनि मृत्यु भएको हल्ला फिजाइएका थिए । उनी सन् २०१४ मा नै मारिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका थिए । तर, त्यसको कहिल्यै पुष्टि भएको थिएन । सन् २०११ देखि हक्कानी नेटवर्कको कमान्ड उनकै छोराले लिएकाले हक्कानी लामो समयदेखि बिरामी भएको हुन सक्ने अनुमान गरिएको थियो ।
हक्कानी नेटवर्क , अमेरिका र अफगानिस्तानविरोधी समूह
हक्कानी नेटवर्कले अफगानिस्तानमा परिचालित अमेरिकी सेना र अफगान सरकारलाई निसाना बनाउँदै आएको छ । हक्कानीलाई पाकिस्तानले अप्रत्यक्ष सहयोग गरेको अफगानिस्तान र अमेरिकाले आरोप लगाउँदै आएको छ । हक्कानी समूहको सम्बन्ध अफगान सरकारविरुद्ध लामो समयदेखि सशस्त्र आन्दोलन गरेको अफगान तालिवानसँग पनि रहेको छ ।
हक्कानी नेटवर्क र अफगान तालिवानले अफगानिस्तानमा गरेका आक्रमणमा दर्जनौँ अमेरिकी फौज मारिएका छन् । पाकिस्तान र उसको गुप्तचर निकाय आइएसआईले ती अतिवादी समूहलाई सुरक्षित आश्रय दिएको अमेरिकी अधिकारीहरूले बताउँदै आएका छन् ।
दर्जनौँ लडाकु समूहमध्येको एक
हक्कानी नेटवर्क अफगानिस्तान र पाकिस्तानको सीमाअन्तर्गत जातीय समुदायको बाहुल्यता रहेको क्षेत्रमा अतिवादी गतिविधि सञ्चालन गर्ने लडाकु समूहहरूमध्येको एउटा शक्तिशाली समूह हो । सन् २००१ देखि अमेरिकी नेतृत्वको सेनाले अफगानिस्तानमा आक्रमण सुरु गरेपछि पाक—अफगान क्षेत्रमा दर्जनौँ लडाकु समूहले अतिवादी गतिविधि सञ्चालन गरेका थिए । पाकिस्तानबाट सञ्चालित भएको बताइने यस समूहको अफगानिस्तानमा भएका भीषण हमलामा संलग्नता रहेको बताइन्छ । सन् २०१७ मा १ सय ५० जनाको मृत्यु हुने गरी काबुलमा भएको ट्रक विस्फोटमा हक्कानीको संलग्नता रहेको काबुल सरकारको दाबी छ ।
तालिवानले भन्यो– उदाहरणीय योद्धा
तालिवानले एक विज्ञप्ति जारी गर्दै जलालुद्दिन हक्कानी एक हक्कानी योद्दा भएको बताएको छ । उसले हक्कानी यस युगकै सबैभन्दा प्रख्यात जिहादी नेता भएको टिप्पणी गरेको छ । अफगान गुरिल्ला नेतासमेत रहेका जलालुद्दिन हक्कानी सन् १९८० मा सोभियत फौजसँग लडेका थिए । १९८० को दशकमा सोभियत सेनाले अफगानिस्तामा आफ्नो प्रभुत्व जमाएको थियो । सो समयमा अमेरिकाले उनको टाउकोको मूल्य तोकेको थियो ।
उनको टाउको ल्याउनेलाई भारी इनाम घोषणा गरिएको अमेरिकी गुप्तचर निकाय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी सिआइएले स्विकारेको छ । सन् १९९६ मा तालिवान सरकारमा पुगेपछि हक्कानीको तालिवान समूहसँग निकटता बढेको थियो । तालिवान र हक्कानी नेटवर्कबीच कतिपय विषयमा साझा रणनीति तय भएको थियो ।










